|

लहान : विभिन्न ज्ञानगुणका कुरा सिकाएर बालबालिकाको भविष्यको जीवनको गोरेटो कोर्न सघाउने शिक्षकलाई पूजासमेत गरिन्छ तर, आफ्नी नातिनी उमेरकी विद्यार्थीलाई नै यौनशोषण गर्न पल्केका विद्यालयका अगुवा मानिने प्रधानाध्यापकले नै रातभर बालिकालाई बलात्कार गरेको घटना उजागर भएपछि प्रहरीले पक्राउ गरेको छ।

सिरहाको लहान नगरपालिका १८ भदैयास्थित राजाजी बाबा आधारभूत विद्यालयका प्रधानाध्यापक वैद्यनाथ चौधरीलाई लहान प्रहरीले सोमबार राति घरबाट नै पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक हीराबहादुर पाण्डेले प्रधानाध्यापक चौधरीविरुद्ध पीडित परिवारको तर्फबाट किटानी जाहेरी परेकाले कानुनअनुसार कारबाही हुने जानकारी दिए। पीडित बालिकाको सोमबार नै लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ।

प्र.अ.चौधरीको कर्तुत

आफैं कार्यरत रहेको विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकालाई प्र.अ. चौधरी बेलाबखत घरयासी कामकाज गर्न बोलाएर यौन शोषण गर्न पल्केको स्थानीय गाउँलेहरु बताउँछन्।

बेला बेलामा कामका लागि घरमै बोलाउने गरेका चौधरीले आइतबार राति पनि बालिकालाई मोबाइलमा फोन गरेर ‘औषधि ल्याइदिएको छु, लिन आउनु’ भन्दै बोलाएको पीडित बालिकाले बताइन्। पीडित बालिकाका अनुसार चौधरीले औषधि लिन पकडियागढमा बोलाएपछि उनी घरमा कसैलाई नभनी औषधि लिन निस्किएकी थिइन्।

औषधि दिने बहानामा बोलाइएकी बालिकालाई उनले पकडियागढमा आइतबार राति पटक-पटक बलात्कार गरेपछि घर फर्किएका थिए भने बालिकाको बिहान ८ बजेतिर मात्र होस खुलेपछि घर आएकी गाउँलेहरुले बताए। रातिदेखि नै हराएकी छोरी चौधरीको घरमा पो काम गर्न गई कि भन्दै अभिभावकहरु खोज्न विद्यालय नजिकै रहेको उनको घरसम्म खोज्दै गए।

चौधरीले छोरी खोज्न आफ्नो घर आएका अभिभावकलाई ‘खोइ थाहा छैन त’ भन्दै फकाएका थिए तर सोमबार बिहान रुदै घरमा आएकी बालिकाले चौधरीको कर्तुत खोलेपछि गाउँलेहरुले सोमबार अपारह्न बालिकालाई अस्पताल पुर्‍याएका थिए।

बालिकालाई बेला बेलामा बेहोस हुने पुरानो रोग थियो। घरको आर्थिक अवस्था कमजोर रहेकाले गाउँलेहरुको सहयोगमा औषधि उपचार हुँदै आएको थियो। आफ्नो नातिनी समानकी बालिका विद्यार्थीलाई बलात्कार गर्ने चौधरीमाथि हदैसम्मको कानुनी कारबाही हुनुपर्ने स्थानीय महिलाहरुको माग रहेको छ।

चौधरीको विगत पनि अँध्यारो

लहान नगरपालिकामा पर्ने खुट्टी खोला पार गरेलगत्तै पुगिने भदैया गाउँका वैद्यनाथ चौधरीलाई विगतमा पनि स्थानीय अभिभावकहरुले विद्यालयको विभिन्न शीर्षकको रकम हिनामिना, नियमित हाजिर नहुने भन्दै धेरैपल्ट सार्वजनिक रुपमै बेइज्जती गर्दै आएका थिए।

जेठी श्रीमती र छोराछोरी हुँदाहुँदै कान्छी श्रीमती भित्र्याएका उनलाई गाउँलेहरुले आर्थिक र यौनको मामिलामा घटिया व्यवहार गर्ने व्यक्तिको रुपमा लिने गरेको स्थानीय अभिभावकहरु बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.