|

 जङ्ग तामाङ-

    पाँचथर : कुम्मायक गाउँपालिका ४ का सूर्यदीप सम्बाहाम्फे बिहानै सिम्रा पुग्छन्। त्यहाँ उनको झण्डै ३ रोपनी खेतमा लटरम्म टमाटर छ। त्यहाँबाट पाकेको टमाटर टिपेर उनी सदरमुकाम फिदिम पठाउँछन् त कहिले स्थानीय बजार यासोक र तिङ्देनमा बेच्छन्। केही वर्षदेखि सम्बाहाम्फेको दैनिकी यसरी नै चलेको छ। खेतमा एकातिर वैशाखदेखि नै पाक्न थालेको टमाटर छ भने अर्कातिर भर्खर पाक्न थालेको टमाटर छ। यसले गर्दा उनको टमाटरले अझै केही महिना बजार पाउने देखिन्छ।

    डेढ महिनामै १० क्विन्टल

    सुख्खाग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकाको टमाटर खेतीमा अगुवा कृषक उनले १० क्विन्टल टमाटर डेढ महिनामै बेचेका छन्। सुरुमा प्रतिकिलो ४५ रुपैयाँ बेचे पनि अहिले भने प्रतिकिलो ३० रुपैयाँमा बेच्दै आएका छन्। उनले १० क्विन्टलबाट ३० हजार रुपैयाँ आम्दानी लिएको बताए। उनका अनुसार अब बोटमा सालाखाला २० क्विन्टल जति टमाटर रहेको सूर्यदीप बताउँछन्। यसबाट ६० हजार आम्दानी हुने उनको भनाइ छ।

    संगीता जातको टमाटर

    उनले संगीता जातको टमाटर रोपेका हुन्। विषादीको अत्यन्त कम प्रयोग गरेर उत्पादन गरेको टमाटर रहरलाग्दो देखिन्छ। एउटै बोटमा ५ किलोसम्म टमाटर फलेको उनी बताउँछन्। पहिले हिउँदे र वर्षे धान ३० हजारको पनि उत्पादन नहुने खेतमा एकै सिजनमा ९० हजार जतिको टमाटर उत्पादन भएपछि उनी थप उत्साहित छन्।

    १० वर्षअघि ट्रिपल आर नामक संस्थाले भेटेरेनरीसम्बन्धी तालिममा चितवन पठाएको र घर आउने बेलामा ५० बोट टमाटरको विरुवा ल्याएर रोप्दा अत्याधिक फलेपछि टमाटर खेतीतर्फ आफू आकर्षित भएको उनले सुनाए।

    टमाटर खेतीतर्फ आकर्षण बढ्दो

    सुख्खाग्रस्त क्षेत्रमा पनि सिँचाइको उचित व्यवस्थापनबाट टमाटर खेतीको सम्भावना छ भन्ने उदाहरण दिएका सम्बाहाम्फेकै सिको गर्दै अहिले छिमेकी भुवनसिंह सम्बाहाम्फे, सिम्राका नरेन्द्र खड्का र पूर्ण खड्काले व्यवसायिक रुपमै टमाटर खेती गरिरहेका छन्।

    सिम्रा क्षेत्रका प्रत्येक घरले व्यवसायिक रुपमै नभए पनि आफूलाई पुग्ने गरीको खेती गरेका छन्। धान,मकै र कोदो मात्रै उत्पादन गर्दै आएका त्यस क्षेत्रका किसानहरुमा नगदे बालीतर्फ आकर्षण बढेको देखिन्छ। खाद्यन्न बलीबाट भन्दा पनि नगदे बालीबाट आर्थिक उपार्जन राम्रो हुने सम्बाहाम्फेको बुझाइ छ।

    पहिले घरमा खाद्यन्न अभावले साहु महाजनको घरमा ढुक्कै बनि गरेको स्मरण गर्दै अब नगदे बाली टमाटरको खेतीले गर्दा बर्काको बनि गर्ने दिन टुङ्गिएको बताए। ‘वैशाखमै घरमा अन्न सकिन्थ्यो। खानु त पर्‍यो साहु महाजनकोमा ढुक्कै बनी गर्दै बसिन्थ्यो।’ विगत सम्झिँदै उनले भने, ‘टमाटर खेतीले नै महाजनकोमा बनी गर्न जान नपर्ने भयो। पैसा पनि कमाइ ठीक छ।’

    नगदेबालीबाट फाइदा

    बुबा आमाले खाद्यान्न बाली मात्रै उत्पादन गर्दा जिविकोपार्जनमा असहज भएको उनको ठम्याइ छ। अहिले नगदे बाली टमाटर खेतीले ७ जनाको परिवार सजिलै धान्न सकेको र २ जना छोरीलाई शिक्षादिक्षा दिन पनि सकिएको उनले बताए। टमाटरको लागि सिँचाइ गर्न पानीको पर्याप्तता भएको र वातवरण पनि अनुकूल गाउँलेहरुलाई पनि खेती गर्न थप प्रोत्साहित तुल्याइने गरेको उल्लेख गरे।

    ‘बुबा आमाले खेती गर्न नजानेका रहेका छन्। जीवनस्तर उकास्न नगदे बाली लगाउनु पर्ने रहेछ।’ उनले थपे, ‘आर्थिक समृद्धिको आधार नगदे बाली नै हो।’ ४० वर्ष नाघेका उनले पाँचथर बहुमुखी क्याम्पसमा आइएड अध्ययन गर्दागर्दै आर्थिक अभावले अध्ययनलाई बीचैमा छाडेर विदेश गएको बताए। तर सोचे जस्तो विदेशमा पनि कमाई नभएपछि फर्किएको उनले बताए।

    विदेशमा गरिने श्रम यहाँको पाखा भित्तामा गर्ने हो भने आर्थिक क्रान्तिको आधार यहीँ निर्माण हुने उनको धारणा छ। यसका लागि भने जिल्ला कृषि विकास बैंकले किसानलाई धितोमा सहुलियत कर्जा प्रवाह गर्नुपर्ने र जिल्ला कृषि विकास कार्यालयले पनि किसानलाई अनुदानसँगै कृषि औजारसँगै प्राविधिक सहयोग गर्नु पर्नेमा उनको जोड छ।

    यससँगै किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणमा सहयोग गर्न पनि आवश्यक रहेको औँल्याए। ‘हामी किसान उत्पादन त गर्छौं। उत्पादित कृषि उपजलाई बजार चाहियो। भएन भने पसिना खेर जान्छ।’ अहिले टमाटरको बजार अभावले कुहिने अवस्थामा पुगेको दुखेसो पोख्दै भने, ‘टमाटरको बिक्री छैन। भाउ पनि घट्यो।’

    अकबरे खुर्सानी रोप्ने योजना

    अगुवा कृषक सम्बाहाम्फेको टमाटर टिपेर सकेपछि ३ हजार विरुवा अकबरे खुर्सानी रोप्ने योजना छ। बजार माग र मूल्य पनि टमाटरको भन्दा बढी रहेकाले अकबरे खुर्सानी रोप्ने योजना बनाएको बताए।

    उनको सुन्तला खेती पनि छ। यस वर्ष एक लाखभन्दा बढीको बेच्ने उनको अनुमान छ। असिनाले यसवर्ष फूल नझारेको र रोगकिरा पनि नदेखिएकोले अघिल्लो वर्षभन्दा बढी उत्पादन हुने उनको विश्वास छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.