पर्सा : स्व. गिरिजाप्रसाद कोइराला ‘नकआउट फुटबल प्रतियोगिता’ शनिवार शुरु भएको छ। कोइरालाको १३ औँ स्मृति दिवसका अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन मधेश प्रदेश समितिले आयोजना गरेको ‘दोस्रो मधेश प्रदेशस्तरीय नकआउट प्रतियोगिता’ भएको हो।
प्रदेशस्तरको पहिलो नकआउट फुटबल प्रतियोगिता सिरहा र महोत्तरीबीच भएको छ। जसमा सिरहाले महोत्तरीलाई १ का विरुद्ध ४ गोल अन्तरले विजयी यात्रा अघि बढाएको छ। खेलको १४ औं मिनेटमा सिरहाका जर्सी नम्बर ११ का विनु आले मगरले आफ्नो टिमका लागि शुरुवाती अग्रता गराए।
पहिलो हाफको २३ औं मिनेटमा नै जर्सी नम्बर १३ का सनम थापाले अर्को गोल गर्दै टिमलाई जितको सुनिश्चिततातर्फ धकेले। त्यसैगरी पहिलो हाफको ३२ औं मिनेटमा पनि सिरहाका जर्सी नम्बर ७ का सुजन पुलामीले टिमका लागि अर्को गोल गर्दै जितलाई थप सुरक्षित गरे। यसरी हाफटाइमअघि ३ गोल गरेको सिरहाले हाफटाइमपछि पनि पुनः ६९ औं मिनेटमा जर्सी नम्बर ११ कै विनु आले मगरको गोलको मद्दतले आफ्नो टिमका लागि ४ गोलको फराकिलो अन्तर कायम गरे।
महोत्तरीले भने पहिलो हाफको १६ औं मिनेटमा टिमका लागि पहिलो गोल गर्यो। महोत्तरीका लागि उक्त गोल जर्सी नम्बर ११ का दीपेश राईले गरेका थिए। खेल अवधिभर महोत्तरीले अर्को गोल भने गर्न सकेन।
पहिलो दिनको सुरुवाती खेलमा विजयी भएको सिरहा भने सीधै सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो दिनको प्रतियोगितामा बेष्ट अफ दि म्याच पनि सिरहाका जर्सी नम्बर ७ का सुजन पुलामी घोषित भए।
चैत १८ गते शनिबार हुने फाइनल खेलमा विजेता हुनेले २ लाख ५० हजार नगद सहित ट्रफी र मेडल पाउने आयोजक फाउण्डेशनका अध्यक्ष मोहमद सहाबुद्दिनले बताए। दोस्रो हुने उपविजेताले पनि १ लाख ५० हजार नगद र ट्रफी सहित मेडल पाउने उनको भनाइ छ।
उत्कृष्ट गोलकिपर र खेलाडीले पनि नगद १५ हजार सहित पदक र ट्रफी पाउनेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।