काठमाडौं : मेचीमार्ग अन्तर्गत पाँचथरको फिदिममा कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। अन्य तीनजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा झापा नगरपालिका–१ की १८ वर्षीया रश्मी भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्किने क्रममा गएराति प्रदेश–१–०१–००१ च ९३४९ नम्बरको कार दुर्घटना हुँदा उनको मृत्यु भएको हो।
ज्यान गुमाएकी किशोरी र घाइते सबै एकै परिवारका हुन्। उनका बुबा ४५ वर्षीय राजु भुजेल आमा ३९ वर्षीया लीला भुजेल र राजुकी दिदी ४० वर्षीया सीता भुजेल गम्भीर घाइते भएका छन्। भाइ १३ वर्षीय राजमोहन भुजेल भने सकुशल छन्।
घाइतेहरूलाई जिल्ला अस्पताल फिदिममा उपचारका लागि पुर्याइएको थियो। उपचारकै क्रममा रश्मीको राति पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर एवं सूचना अधिकारी विवश कुँवरले जानकारी दिए।
घाइते तीनै जनाको उपचार बीएण्डसी अस्पताल झापामा भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।