|

काठमाडौं : सत्तागठबन्धन दुई दल कांग्रेस–माओवादीले ११ र ९ मन्त्रालय लिने गरी भागबन्डामा लगभग सहमति भएको छ। गठबन्धनमा सहभागी लोकतान्त्रिक फोरम, राप्रपा, नेकपा संयुक्तलगायतका साना दललाई भने बाँकी मन्त्रालय दिने सहमति दुई दलबीच छ।

कुल ३० मन्त्रालयमध्ये २४ मन्त्रालयको भागबन्डा टुंगो लगाउन बाँकी छ। मन्त्रालय भागबन्डाको टुंगो लगाउन कांग्रेसबाट विमलेन्द्र निधि, रमेश लेखक र माओवादी केन्द्रबाट कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्माले गृहकार्य गरिरहेका छन्।

गृहमन्त्री जनार्दन शर्माले ऊर्जा माओवादी, भौतिक पूर्वाधार तथा यातायात र सूचना तथा सञ्चार कांग्रेसले लिने विषयमा दुई दल सहमतिनजिक पुगेको जानकारी दिए। ‘कांग्रेसलाई ११, माओवादीलाई ९ र बाँकी अन्य दललाई दिने गरी मन्त्रालय भागबन्डामा छलफल छ,’ शर्माले भने, ‘भौतिक र ऊर्जा दुई दलले बाँडेर लिने करिब सहमति छ। भौतिक कांग्रेस र ऊर्जा माओवादीको भागमा पर्ने सम्भावना छ।’

कांग्रेस–माओवादीबीच ६ मन्त्रालयको भागबन्डा टुंगिएर मन्त्रीसमेत नियुक्त भएका छन्। कांग्रेसले अर्थ, शिक्षा र श्रम तथा माओवादी केन्द्रले परराष्ट्र, गृह, लोकतान्त्रिक फोरमले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्। माओवादी कोटाका मन्त्री प्रभु साहको मन्त्रालय टुंगो नलाग्दा उनले विनाविभागीयमन्त्रीका रूपमा सपथ लिएका छन्।

लोकतान्त्रिक फोरम र राप्रपालाई यसअघिको सरकारमा सम्हाल्दै आएका मन्त्रालयको जिम्मेवारी दिने गरी प्रधानमन्त्रीले छलफल चलाएका छन्। राप्रपा र राजपा सरकारमा आउने–नआउने टुंगो लागेपछि कांग्रेस र माओवादी केन्द्रले लिने मन्त्रालयको संख्या थपघट गर्न सकिने विकल्प दुई दलले खुला राखेका छन्। राप्रपामा सरकारमा जाने विषयमा विवाद छ भने राजपाले पनि संविधान संशोधनअघि सरकारमा जाने–नजानेबारे निर्णय गरेको छैन।

मन्त्रालय भागबन्डाको विषय बिहीबार टुंग्याउने दुवै दलको तयारी छ। शिक्षा र स्वाथ्य, भौतिक र ऊर्जा, कानुन र सामान्य प्रशासन, वाणिज्य र आपूर्तिजस्ता मन्त्रालय एक–एक गरी भागबन्डा लगाउनेमा दुई दलबीच छलफल चलेको छ। शिक्षा कांग्रेसले लिएकाले स्वास्थ्यमा माओवादीको दाबी छ। वाणिज्य कांग्रेस र आपूर्ति माओवादीले लिने गरी छलफल चलिरहेको स्रोतको भनाइ छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार मन्त्रालय भागबन्डा, सरकार सञ्चालन र स्थानीय तहको दोस्रो निर्वाचन गराउने विषयमा छलफल भएको छ। शपथग्रहण, पदभार ग्रहण, मन्त्रिपरिषद् बैठक सकेर प्रधानमन्त्री देउवा प्रचण्डलाई भेट्न उनकै निजी निवास लाजिम्पाट पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.