|

  • शैलेन्द्र समदर्शी

दार्जिलिङ : नेपाली भाषीमाथि दमन गर्ने राज्य सरकारको नीतिको विरोधमा गोर्खा जनमुक्ति मोर्चाले आह्वान गरेको बन्दका कारण दार्जिलिङ ठप्प बनेको छ। सवारी साधन, शिक्षण संस्था तथा कलकारखना चलेका छैनन्।

राज्य सरकारले बन्द विफल पार्न कठोर कदम चालेको छ। कर्मचारीहरुलाई जसरी पनि कार्यालय पुग्न उर्दी जारी गरिएको छ भने नपुग्नेहरुको तलब काट्ने चेतावनी दिइएको छ। बन्दमा नचल्ने सवारी साधनको परमिट रद्द गर्ने चेतावनी पनि राज्य सरकारले दिएको छ।

यसका बाबजुद पनि कालेबुङ, खरसाङ, मिरिक लगायतका बजारहरु पूर्णरुपमा ठप्प छन्।

नेपाली भाषामाथि पश्चिम बंगाल सरकारको अतिक्रमणविरुद्ध विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीचको झडपपछि बिहीबार अपराह्नदेखि स्थिति तनावपूर्ण छ। आक्रोशित प्रदर्शनकारीले १२ वटा सवारी साधन जलाएका छन्। हिंसा फैलाएको आरोपमा प्रहरीले केही प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ।

तनाव बढ्दै गएपछि स्थितिलाई नियन्त्रणमा राख्न राज्य सरकारले सेना परिचालन गरेको छ। शुक्रबार सेना र प्रहरीले संयुक्त गस्ति गरिरहेका छन्। राज्य प्रशासनको हस्तक्षेप स्थानीय टीभी च्यानलहरूमा पनि परेको छ। प्रशासनले यहाँका सबै क्षेत्रीय च्यानलहरूको प्रसारणमाथि रोक लगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.