|

काभ्रे : काभ्रेको पाँचखाल नगरपालिका–८ चिसापानीस्थित सुक्खा पहिरो जाँदा एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

बिहीवार बाटोमा जाली लगाउने कामदारहरू जाली लगाउँदै गर्ने क्रममा माथिबाट सुक्खा पहिरो खस्दा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भई हाल काभ्रेको पाँचखाल–८ चिसापानी बस्ने २३ वर्षीय कुशल नेपाली (सुन्दास)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले पहिरोले पुरिएर गम्भीर घाइते नेपालीलाई उद्धार गरी धुलिखेल अस्पताल पुर्‍याए पनि अस्पतालले ४ः३४ बजे मृत घोषणा गरेको बताए।

डिएसपी न्यौपानेका अनुसार घाइते हुनेमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ घर पाँचखालको चिसापानी बस्ने भरत राईकी श्रीमती २३ वर्षीया सन्जिता राई र सोही स्थानकै ४ वर्षीय सविक राई रहेका छन्। सन्जिता र सविक आमाछोरा हुन्। उनीहरूको बाहिरी चोट नभएको र अवस्था मध्यम रहेको अस्पतालले जनाइएको छ।

डिएसपी न्यौपानेले सुक्खा पहिरो खस्दा जाली लगाउँदै गरेका कामदारहरू पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भगवतीस्थानबाट समेत खटिएको प्रहरी टोली घटनास्थल पुगेर उनीहरूको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएकोमा एकको मृत्यु भएको र दुईजनाको उपचार भइरहेको जानकारी दिए। उनले दिउँसो २ बजे सुक्खा पहिरो खसेको हुन सक्ने बताए। 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.