|

नेकपा एमाले सदैव सहमतीय राजनीतिको पक्षमा छ। निरंकुशताविरुद्धको आन्दोलनमा हामी तीन दल सँगै भएका कारण परिवर्तन सम्भव भयो। तीन दलको प्रयासमै सहमतीय संविधान निर्माण भयो। एमाले कहिल्यै पनि सहमतिको विपक्षमा उभिएन। सहमतीय राजनीतिको विग्रह एमालेले गरेन। गणतन्त्र स्थापनापछि प्रधानमन्त्री बन्ने होडबाजीका कारण कांग्रेस र माओवादीबाट नै सहमतीय राजनीतिको विग्रह भयो। 

हामीले सहमतिमा निर्माण गरेको अन्तरिम संविधानले बहुमतीय सरकारको परिकल्पना गरेकै थिएन। संविधानको मर्म सहमतीय सरकार थियो, नेकपा एमाले पनि सहमतीय सरकारको पक्षमा अडिग थियो। तर बहुमत प्राप्त गरेको माओवादीको नेतृत्वमा सहमतीय सरकार बन्न नसक्ने भन्दै विवाद सिर्जना भयो। हामीले संविधान संशोधन गर्‍यौं। कांग्रेसले शेरबहादुर देउवालाई उम्मेदवार बनाउने भयो। माओवादीबाट त्यस पार्टीका अध्यक्षले उम्मेदवारी दिने कुरा स्वभाविक थियो।

यसरी उहाँहरुबाट नै सहमतीय राजनीतिको परम्परा तोड्ने काम भयो। सहमतीय राजनीतिले उकाली ओह्राली घुम्ती पार गर्दै संविधान जारी गर्न सफल भयो। संविधान जारी हुँदा कायम भएको दलीय एकता र सहमतिको राजनीति फेरि टुटेको छ। अहिले बडो अचम्मको परिस्थिति सिर्जना भएको छ। संसदको दुई ठूला दल कांग्रेस र एमाले एकै ठाउँमा उभिनै नहुने अचम्मको सिद्धान्त प्रतिपादन भएको छ। दलीय एकता टुट्दा राष्ट्रिय मुद्दाहरु समाधान हुन सकिरहेको छैन। प्रतिपक्षीलाई कुनामा राख्ने काम भइरहेको छ। अनि समाधान गर्न नसकेपछि दोष प्रतिपक्षीलाई नै दिने गरिएको छ। मलाई गाउँघरको एउटा उखान असाध्यै मनपर्छ आफ्नो थैली बलियो पार्नु कसैलाई चोर दोष नलगाउनू।

नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार हुँदा प्रमुख प्रतिपक्षी दलका नेताका रुपमा रहनुभएका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारमा तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई भेट्न आउनुभएको थियो। संयोगले म पनि त्यो बैठकमा थिएँ। उहाँले प्रतिपक्षी पनि राज्यको अंग हो। कानुन निर्माण गर्दा, राष्ट्रिय महत्वका विषयमा सरकारले निर्णय गर्दा प्रतिपक्षीले थाहा पाउनुपर्छ भन्नुभएको मलाई झल्झली सम्झना आइरहेको छ। उहाँको मागपछि हामीले अनौपचारिक कार्यदल गठन गरेका थियौं, जसले सरकारले गर्न लागेको हरेक विषय त्यही कार्यदलमा छलफल गरेर प्रतिपक्षी दललाई जानकारी गराउँथ्यो। अहिले उहाँहरुले प्रतिपक्षीलाई कुनामा राख्ने काम गरिरहनुभएको छ। प्रधानमन्त्रीज्यू तपाईंकै भनाइमा प्रतिपक्षी दल राज्यको अंग हो त्यसैले कुनामा राख्ने काम नहोस्।

संविधान संशोधन जस्तो महत्वपूर्ण विषयमा समेत प्रतिपक्षीलाई पन्छाएर छलफल हुने गरेको छ। संविधान सर्वस्वीकार्य बनाउनुपर्छ भन्ने हाम्रो पनि एजेण्डा हो। हामी तीन दलले नै सामूहिक रुपमा संविधान जारी गर्दाका बखत संविधानमा केही कमी कमजोरी रहेकाले आवश्यकता अनुसार कमी कमजोरी सच्याउने प्रतिबद्धता व्यक्त गरेका हौँ। तर याद गर्नुपर्ने कुरा के हो भने संविधान जारी गर्दा एकै ठाउँमा उभिएका दलहरुले सहमति जुटाएर असन्तुष्ट पक्षको माग सम्बोधन गरेर अघि बढे मात्रै संविधानको सर्वस्वीकार्यता कायम हुन्छ। संविधानको सर्वस्वीकार्यता सम्भव हुन्छ।

प्रतिपक्षीलाई कुनामा राख्ने परम्परा प्रधानमन्त्रीले तोड्नुहुनेछ। तीनै तहको निर्वाचन समयमै सम्पन्न गरी विगतको कमजोरी दोहोर्‍याउनुहुनेछैन। समावेशी, समानुपातिक ढंगले मन्त्रिपरिषद्लाई पूर्णता दिनुहुनेछ। जिम्मेवार प्रमुख प्रतिपक्षीको हैसियतमा नेकपा एमाले सरकारको सकारात्मक काममा सदैव सहयोग गर्छ। प्रधानमन्त्री ज्यूलाई म फेरि भन्छु, प्रतिपक्षी दललाई कुनामा राख्ने काम बन्द होस्। उहाँकै कारण सहमतीय राजनीति विग्रह भएको थियो। आशा गरौं उहाँकै पालामा दलीय एकता र सहमतीय राजनीतिको सुरुवात हुनेछ।

शुक्रबारको संसदमा नेम्वाङको संबोधनको सम्पादित अंश

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.