|

कञ्चनपुर : भीमदत्त नगरपालिकाले महाकालीको नदीजन्य पदार्थको रोयल्टी संकलनमा अनियमितता गरिरहेको भन्दै तटीय क्षेत्रका स्थानीयले सोमबार विरोध गरेका छन्। स्थानीयले विरोध जनाउँदै चक्काजाम गरे।

महाकाली किनारको भीमदत्त नगरपालिकाका वडा नं. ११ का स्थानीयले चौकिसोतामा एक घण्टा चक्काजाम गरेका हुन्। अनियमितताको विरोधमा यहाँका क्रियाशील राजनीतिक दलका प्रतिनिधि र स्थानीयले चरणबद्ध विरोध कार्यक्रम गरेका छन्।

वडा नं. ११ मा कांग्रेस बाहेकका सबै क्रियाशील राजनीतिक दलका प्रतिनिधिले अनियमितता रोक्न पहलकदमी लिनुपर्ने माग गर्दै यसअघि भीमदत्त नगरपालिका र नेकपा एमालेको भीमदत्त नगर कमिटीलाई ज्ञापनपत्रसमेत दिएका थिए।

चालू आर्थिक वर्षमा महाकालीको नदीजन्य पदार्थको उत्खननको लागि रोयल्टी संकलनका लागि ठेक्का नलगाइ नगरपालिकाले आफैँ अमानतमा गरिरहेको छ।

उक्त रोयल्टी संकलनमा व्यापक अनियमितता भइरहेको, बिनाछापका रसिद काट्ने, एउटै रसिद बारम्बार प्रयोग भइरहेको आरोप स्थानीय, जनसरोकारवाला संघ, संस्थाले लगाएका छन्।

पटक पटक आवाज उठाउँदा समेत नगरपालिकाले कुनै वास्ता नगरेको उनीहरुले बताए। त्यसको विरोधमा सोमबार एक घण्टा चक्काजाम गरिएको र अनियमितता नरोकिए चरणबद्ध विरोध कार्यक्रम सञ्चालन गर्ने स्थानीयको भनाई छ।

सोमबार प्रभावित क्षेत्रका स्थानीय चौकीसोतामा एकत्रित भएका थिए। वडा नं. ११, १२ र १३ का बासिन्दाले नदीजन्य पदार्थ बोकेका गाडीहरुले धुलो उडाउने तर धुलो व्यवस्थापनका लागि पानीको व्यवस्थासमेत नगरिएको गुनासो गरे।

एमाले नगर कमिटी अध्यक्ष हिमाल चन्दले यसअघि वडा नं. ११ का क्रियाशील राजनीतिक दलहरुले सशक्त पहलकदमीका लागि ज्ञापनपत्र बुझाएको र त्यसमा आफ्नो पार्टीको ऐक्यबद्धता रहेको बताए।

‘राजस्व संकलनजस्तो सम्वेदनशील विषयमा स्थानीय जनसमुदायले सरोकारवालाहरु निकायको चरम लापरवाही, उदासिनताले राज्यलाई दैनिक लाखौं रकम हिनामिना भईरहेको विषयमा तत्कालै कडा कदम चाल्न नगरपालिकालाई जोडदार माग गर्दासमेत बेवास्ता गरिएको छ,’ उनले भने।

वडा नं. ११ की वडाध्यक्ष गीता ओली, नेकपा माओवादीका प्रतिनिधि चन्द्रसिंह धामी, राप्रपाका रोशन विष्ट, नेकपा एकीकृत समाजवादीका सुरेशदत्त भट्ट र रास्वपाका प्रतिनिधि गोविन्दबल्लभ पन्तलगायतले नगरपालिकाकै कर्मचारीले रोयल्टी संकलनमा बदमासी गरिरहेको भन्दै विरोध गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.