|
प्रतीकात्मक तस्विर

अर्घाखाँची : जिल्लाको भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन्।

भूमिकास्थान नगरपालिका–२ तिरतिरे जंगलमा लागेको आगो स्थानीय बस्तीको पदम बेल्वासेको घरमा सल्किएपछि निभाउने क्रममा मंगलबार साँझ उनीहरू गम्भीर घाइते भएका हुन्। घाइते पाँच जनालाई जिल्ला अस्पताल सन्धिखर्कमा प्राथमिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले बताए।

आगलागीमा परी भूमिकास्थान–२ तिरतिरेका ५५ वर्षीय पदम बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे, ७२ वर्षीय पीताम्बर बेल्वासे र २६ वर्षीया अस्मिता बेल्वासे घाइते भएका हुन् । आगोले पदम बेल्वासेको घर पनि नष्ट भएको प्रहरी प्रमुख रिजालले जानकारी दिए।

घाइतेका शरीरका विभिन्न भाग जलेका प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घर जोगाउन सफल भएको वडा नम्बर २ का वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए। 

सन्धिखर्क नगरपालिकाको वडा नम्बर–४, वाङलामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन्। कम्तीमा चार भैँसी जलेका छन्। कुखुरा फर्ममा आगलागी हुँदा ८०० भन्दा बढी कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
  
आगलागीले मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालदिन मियाँ, सफी मियाँ र समसेर मियाँका आठ घरगोठ जलेर नष्ट भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.