|

  • सविता जिसी

सुर्खेत : शैक्षिक सुधारसहितका विभिन्न माग राखेर २४ घण्टे अल्टिमेटम दिएका विद्यार्थीहरुले वार्ताका नाममा क्याम्पस प्रशासनले धोका दिएको भन्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्। निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनसिहत ७ विद्यार्थी संगठनले शनिबार उपकुलपति डाक्टर उपेन्द्रकुमार कोइरालाको घरमै पुगेर ज्ञापनपत्र बुझाउँदै २४ घण्टे अल्टिमेटम दिएका थिए।

त्यसपछि क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई सोमबार वार्तामा बोलाएको थियो। तर, वार्ता निष्कर्षविहीन बन्न पुग्यो। वार्तामा आफूहरुको माग सम्बोधन गर्ने तत्परता नदेखेपछि अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको विद्यार्थीहरुले जनाएका छन्।

उनीहरुले विश्वविद्यालयलाई व्यवस्थित र साझा शैक्षिक संस्थाको रुपमा सञ्चालन गरिनुपर्ने, आंगिकरुपमा सम्बन्धन दिने भनिएका क्याम्पसहरुलाई सम्बन्धन दिई तत्काल सञ्चालनमा ल्याउनुपर्ने लगायतका माग अघि सारेका छन्।

पहिलो चरणमा सोमबार उपकुलपतिको कार्यालयसहित सबै कार्यालयहरुमा तालाबन्दी गरेका र क्यापसका सबै यातायातका साधन सञ्चालनमा रोक लगाइएको नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अनिलबहादुर शाहीले बताए।

विद्यार्थी संगठनहरुले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार मंगलबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने, बुधबार सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने र असार १ गते विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ।

यस्तै असार २ गते विश्वविद्यालयको केन्द्रीय क्याम्पसभित्र विरोध तथा भण्डाफोर कार्यक्रम सञ्चालन गर्ने र सोही दिन थप आन्दोलनका कार्यक्रम घोषणा गरिने विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा निर्वाचित स्ववियुसहित नेविसंघ, अखिल क्रान्तिकारी, विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारी, अखिल (छैठौँ), नेपाल क्रान्तिकारी विद्यार्थी संघ, राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.