|

 काठमाडौँ : बागमती प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिं तामाङले प्रदेश हट्नु भनेको संघीयता हराउनु भएको बताएका छन्।

शुक्रवार काठमाडौँस्थित नक्सालमा तामाङ पत्रकार संघ संघीय समितिको आयोजनामा भएको तामाङ पत्रकारहरूको राष्ट्रिय भेला तथा अक्षयकोष घोषणा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन्।

मन्त्री तामाङले प्रदेशबाट स्थानीयमा पठाएको बजेट संघको भन्दा प्रभावकारी हुने दाबी गरे। उनले स्थानीय तहको नजिकको सरकार प्रदेश बाहेक अरू हुन नसक्ने समेत दाबी गरे।

उनले प्रदेशिक तथा मुख्य सडक छोडेर व्यक्ति घर जाने सडक बनाउनतिर नलाग्ने बताए। उनले भने, ‘हामी प्रदेशिक तथा अत्यावश्यक मुख्य सडक छोडेर व्यक्तिको घर जाने बाटो बनाउने काममा लाग्दैन।’

मन्त्री तामाङले तामाङ संस्कार संस्कृति प्रवर्धन गर्ने हिसावले सरकारको तर्फबाट सकिने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले राजनीतिमा तामाङ समुदायको पहुँच कम भएको बताए। उनले देशको ऐन, कानुन बनाउने ठाउँमा नपुगेसम्म आफ्नो समुदायको हकहितको बारेमा काम गर्न र बोल्न नसक्ने बताए।

उनले पद पाएपछि काम समेत नगर्ने प्रवृत्तिले विकास हुन नसकेको बताए।  मन्त्री तामाङले ‘कलमजीवी’नामक पुस्तक समेत विमोचन गरे।

तामाङ पत्रकार संघका अध्यक्ष सुवास योञ्जनको सभापतित्व तथा महासचिव तीर्थमान बलको सञ्चालनमा भएको कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल, भाषाविद् अमृत योञ्जन, अन्तराष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, फोनिजका अध्यक्ष गजुरधन राई, नेपाल तामाङ घेदुङका सचिव सरोज तामाङ, संघका संस्थापक अध्यक्ष रवीन्द्र ग्याबा, संघका पूर्व अध्यक्ष तथा इन्डिजिनियस टेलिभिजनका प्रबन्धक जगत् दोङ लगायतका उपस्थित थिए। 

तामाङ पत्रकार अक्षयकोष, मिडिया अवार्ड र स्मृति पत्रकारिता पुरस्कार
पहिचानका विषयमा कलम चलाउने तामाङ पत्रकारलाई सम्मान गर्ने गरी ‘तामाङ पत्रकार अक्षयकोष’ घोषणा गरेका छन्। संघका अध्यक्ष सुवास योञ्जनले १० लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको बताए।

वार्षिर्क ३ जना क्रियाशील तामाङ पत्रकारलाई सम्मान गरिने बताइएको छ। तामाङ भाषा, पहिचानका क्षेत्रमा योगदान पुर्‍याउने दुईजना तामाङ पत्रकारलाई ‘तामाङ मिडिया अवार्ड’ र एकजनालाई ‘दीपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार’ एकजनालाई प्रदान गरिनेछ। उनीहरूलाई जनही १० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने तामाङ पत्रकार संघले जनाएको छ।

त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष बुद्ध योञ्जनले ५० हजार रुपैयाँ बराबरको एकजना तामाङ पत्रकारलाई ‘पहिचानमूलक तामाङ पत्रकारिता लेखनवृत्ति प्रदान गर्ने बताए। पुरस्कार पत्रकार संघको स्थापना दिवसमा प्रदान गरिनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.