निर्धारित समयमै पानी आउँछ : विकास समिति

|

काठमाडौं : मेलम्ची खानेपानी बन्द भएपछि ट्यांकरको पानी माग बढ्दै गएको छ। मेलम्ची पानी नआएपछि उपभोक्ता यतिखेर ट्यांकरको पानी उपभोग गरिरहेका छन्। 

काठमाडौं उपत्यका ट्यांकर तथा बोरिङ व्यवसायी संघका अनुसार मेलम्ची पानी आउँदा ट्यांकर पानीको माग घटेर ५० प्रतिशत आइपुगेको थियो। अहिले ह्वात्तै बढेर ट्यांकरको पानीमा माग ७५ प्रतिशत पुगेको छ।

अहिले २५ प्रतिशतले पानीको माग बढेको काठमाडौं उपत्यका ट्यांकर तथा बोरिङ व्यवसायी संघका अध्यक्ष हरि कँडेलले जानकारी दिए। ‘मेलम्ची पानी नआएपछि अहिले २५ प्रतिशतले ट्यांकरको पानी माग बढेको छ। अब मेलम्ची पानी आएपछि फेरी माग घट्छ’‚ उनले भने। 

अहिले सहजै ढंगले पानीको माग आपूर्ति गरिरहेको उनले जानकारी दिए। ‘जहाँ पानीको समस्या छ,त्यहाँबाट हामीलाई सम्पर्क गर्छन्। ती ठाउँमा ट्यांकरबाट सेवा दिइरहेका छौँ‚,उनले भने। उभोक्ताको मागअनुसार टंयाकरको पानी आपूर्ति गर्न सक्ने उनको भनाइ छ।

उनका अनुसार उपत्यकाभित्र ९ सयभन्दा बढी ट्यांकर छन्। अहिले टयांकरले काठमाडौं उपत्यकाभित्र घरायसी प्रयोजनका लागि मात्र पानी वितरण गर्ने गरेको छ। खानेपानीको लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले वितरण गर्छ।

कहिले आउँला बन्द भएको मेलम्ची पानी ?

केयुकेएलले मेलम्ची खानेपानी वर्षातको समयमा पनि उपत्यकामा ल्याउन भन्दै थप संरचना निर्माण गर्न  जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन बन्द हुने जानकारी दिएको छ। त्यही अनुसार अहिले मेलम्ची पानी बन्द गरिएको छ। 

मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले यस पटकदेखि वर्षा याममा पनि पानी ल्याउने तयारीका साथ काम भइरहेको जानकारी दिए। उनका अनुसार मेलम्ची नदीको पानी पथान्तरण गर्नु परेका कारण सुरुङको रेक्टिफिकेशनका कार्य एवं २०७८ सालको बाढीले क्षतिग्रस्त हेडवर्क्सलगायत संरचनाको निर्माण गर्न पानी बन्द गरिएको छ। 

उनले भने,‘साढे २ सय मिटरको अहिलेको वैकल्पिक सुरुङ थियो, त्यहाँ पाइप जोडेर पानी हालेको हो। हो यो वैकल्पिक सुरुङको १ नम्बर इनलेट र आउटलेट (मुख पुच्छर)मा संरचना बनाइरहेका छौँ, जस्तो १ नम्बरमा ढुंगा पस्न नदिन सुरक्षाका लागि र्‍याक राख्छौँ।’ ९ नम्बरको आउटलेटमा भित्र ढुंगा‚ गिटी, बालुवा भरियो भने त्यसलाई पखाल्न सकिने संरचना बनाइरहेको उनले जानकारी दिए।

मेलम्चीको पानी बन्द भएसँगै ट्यांकर व्यवसायीको मिलेमतोमा अझै उक्त निर्माण कार्य थप धकेलिने हो कि भन्ने बहस सुरु भएको छ। तर केयुकेएल बोर्डका अध्यक्ष तिरेसप्रसाद खत्री र केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले ती व्यवसायीसँग कुनै मिलेमतो नरहेको र नरहने तर्क राखे। सकेसम्म छिटो काम सकाएर पानी ल्याउने उनीहरूले बताएका छन्। 

मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी पन्तले पनि निर्धारित समयमै काम सकिने र पुनः मेलम्चीको पानी ल्याउने जानकारी दिए। ‘तीव्र गतिमा काम भइरहेको छ, तोकिएकै समयमा काम सकेर पानी ल्याउने लक्ष्य छ’‚ उनले भने। यही जेठ १५ गतेपछि मेलम्चीको पानी उपत्यकाभित्र पुनः ल्याउने उनको भनाइ छ। 

१० दिनसम्म बिराएर खानेपानी वितरण 

केयुकेएलका प्रमुख कार्यकारी अधिकृत शाक्यले यही भएको स्रोतको पानी ३ दिनदेखि १० दिन बिराएर वितरण गरिएको जानकारी दिए। उनका अनुसार मेलम्चीको पानी नियमित आउँदा २ देखि ३ दिन बिराएर ग्राहकलाई पानी वितरण गरिएको थियो। केयुकेएलका १ लाख ६० हजार ग्राहक छन्। पानी भने १ घण्टासम्म मात्रै वितरण गरिनेछ। 

मेलम्ची खानेपानी आयोजना सुरु भएको २ दशकपछि उपत्यकाभित्र पहिलोपटक विसं २०७७ चैत १५ गते पानी वितरण थालिएको थियो। पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण भयो।

तर, ०७८ सालको असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो। क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो।

तर सरकारले पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गतेबाट मेलम्चीको पानी ल्याउन बन्द गर्‍याे। बर्खा सकिए पनि सरकारले समयमा पानी ल्याउन सकेन। बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी सरकारले काठमाडौं ल्यायो। क्षति मर्मतपछि गत मंसिर २३ गतेदेखि पानी वितरण भएको हो। फेरि मर्मतकै लागि जेठ ५ गतेदेखि मेलम्चीको पानी बन्द भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.