|

विराटनगर : यतिबेला मोरङका मतदाता बन्द-हडतालले भोट हाल्न नपाइने हो कि भन्ने चिन्तामा परेको बताउन थालेका छन्। धेरैले असार १४ को निर्वाचनलाई मध्यअसार भन्दै भोट हाल्न जनता नआउने हुन् कि भन्ने आशंका गरिरहेका छन्। त्यति मात्रै होइन मधेसमा सुरु भएको बन्द हडतालले पनि भोट हाल्न जनता नआउने त होइनन् भन्ने आशंका बढिरहेको छ। तर, जनता भन्छन् मध्यअसारले भोट हाल्न रोकिँदैन बरु बन्द हडतालदेखि डर लाग्छ।

मध्यअसारले भोट हाल्न रोकिँदैन, बन्द हडतालको डर लाग्छ

गाउँका चोक-चोकमा चुनावी अभियान र प्रचार सामाग्री पुगेका छन्। चोक चोकमा आफ्ना चुनाव चिह्न अंकित झण्डा राख्ने लहरले चोकै रंगिलो बनाएको छ। सर्वसाधरणको चिया पसलदेखि चोकमा पनि चुनावकै चर्चा हुन्छ। अहिले चर्चा छ त केबल चुनाव कै छ।

‘यस पटक हुने निर्वाचनमा भोट त हाल्न जाने हो,’ मोरङ नोचा-१ का कलानन्द साहले भने, ‘बिहान, बेलुका काम गरेर पनि भोट हाल्नुपर्छ, एकदिन काम माया मारेर भए पनि भोट दिन हामी आतुर छौं।’

बिहान बेलुका काम गर्ने, नभ्याए अर्को दिन काम गर्दा पनि हुने उनको भनाइ छ। दलका नेता कार्यकर्ता भोट माग्न आउँदा उत्सव जस्तो लागेको उनी बताउँछन्। ‘बिहान बेलुका भोटकै चर्चा छ, गाउँमा रमाइलो भइरहेको छ, हाम्रा दुःख पीडा सुनाउन पाइएको छ,’ उनले भने, ‘भोलि जितेर पनि हाम्रो दुःखमा साथ दिऊन्।’

भोट हाल्न नपाइने हो कि भन्ने चिन्ता

जहदा गाउँपालिका १ का टीका विसंकेलाई खेती किसानीको भन्दा भोट हाल्न नपाइने हो कि भन्ने चिन्ता छ। ‘खेती त दुई चार दिनपछि गर्दा पनि हुन्छ,’ उनले भने, ‘भोट त फेरि-फेरि हुँदैन नि सर, बरु आन्दोलनले चाहिँ सहरतिर असर गर्ला कि?’ भोट हाल्ने कुरामा गाउँमा कुनै कन्जुस्याइँ हुँदैन भन्छन् उनी।

यता, जहदा ६ मझारेका भोला मण्डलले जनताको लागि भएको निर्वाचनमा आफू पनि भोट हाल्न जाने बताए। सिटी सफारी चालक रहेका उनले बरु आफूहरुको समस्या समाधानमा नेताहरुले ध्यान दिनुपर्ने बताए। ‘भोट भनेको हाम्रैलागी हो हामीले चुनेर गएका राम्रा भ एभने गाउँको विकास हुन्छ,’ उनले भने, ‘सिटी एकदिन नचलाएरै भए पनि भोट हाल्न चाहिँ जान्छु।’

मत माग्छन्, जान्छन् भोट हाल्न राम्ररी सिकाउँदैनन्

गाउँमा निर्वाचन आयोगले मतदाता शिक्षा तालिम भने प्रभावकारी हिसाबले नदिएको मतदाताले गुनासो गरेका छन्। ‘भोट हाल्न जान्छु, तर कसरी हाल्ने भन्ने विषयमा भने राम्ररी थाहा छैन,’ जहदा ४ का पवनलाल मण्डलले भने, ‘अहिलेसम्म कसैले सिकाएको पनि छैन, राजनीतिक पार्टीका मान्छेहरु पनि भोट माग्छन्, जान्छन्, राम्ररी सिकाउँदैनन्।’

यता, माओवादी केन्द्रका नेता तथा मोरङ क्षेत्र नम्बर ४ का सांसद शिवकुमार मण्डलले अब असार १४ ले भोट हाल्न जनतालाई नरोक्ने बताए। ‘असार १४ यताउता गर्नु हुँदैन, जनता भोट हाल्न आउँदैनन् भनेर कमेन्ट गर्न पनि जरुरी छैन,’ मण्डलले भने, ‘जनता आफैं चुनाव प्रचारमा छन् कसरी भोट हाल्न आउँदैनन्?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.