|

उदयपुर :  उदयपुरमा प्रमुख राजनीतिक दलहरुले नै निर्वाचन आचरसंहिता पालना नगरेको पाइएको छ। नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र र राप्रपा नेपाल लगायतले निर्वाचन आचारसंहिता पालना नगरेका हुन्।

राजनीतिक दलले गाईघाटको मुख्य सार्वजनिक स्थान, सरकारी कार्यालयको परिसरमा पार्टीका झन्डा र ब्यानर, चुनाव चिह्न अंकित झण्डाले रंग्याएका छन। ‘ट्राफिक नियमको नजरबाट हेर्दा दुर्घटनासमेत बढ्ने संकेत देखिएको छ,’ स्थानीय शिव दाहालले भने, ‘सडक तथा चोकमा विज्ञापनका होडिङवोर्ड समेत राख्न पाइँदैन तर दलले चुनाव प्रसार सडकमा गरेर जोखिम बढाएका छन्।’

अर्को पार्टीको झण्डा निकालेर फ्याँक्दै आफ्नो पार्टीको राख्दै

गाईघाटको मुख्य चोक,  बिपी चोक, पीपलचोक, पिजी चोकमा राति-राति झण्डा गाडिने गरिएको छ। ‘तीन  दिनअघि कांग्रेसको मात्र झण्डा देखिएको थियो, दुई दिनपछि एमाले र माओवादीले बाँस गाडेर राखेको भेटियो। पिजी चोकमा चिया पसल गर्ने महेस धमलाले भने, ‘जब राति हुन्छ अनि राजनीतिक दलका कार्याकर्ता एकले अर्काको झण्डा मिल्काउँदै आफ्नो झण्डा राख्ने गरेको देखिन्छ।’

राजनीतिक दलले चुनावी आचारसंहिता उल्लंघन गर्दै प्रचारप्रसार समेत भड्किलो बनाएका छन्। त्रियुगा नगरपालिकासहित कटारी नगरपालिका, बेलका नगरपालिका र चौदण्डी नगरपालिका क्षेत्रमा चुनावा प्रचारप्रसार भड्किलो बनाउँदै गएका छन्। निर्वाचन आयोगले राजनीतिक दललाई चुनावी चिह्न भएको टिसर्ट र झोला वितरण नगर्नु भन्ने आदेश जारी गरेको छ। तर यसलाई लत्याउँदै अहिले जिल्लाका राजनीतिक दलले चुनाव चिह्न भएको टिसर्ट र झोला वितरण गर्दै हिँडेका छन्।

आचारसंहिता पालना गर्न निर्देशन

जिल्ला निर्वाचन कार्यालयको निर्वाचन आचारसंहिता अनुगमनकर्ताका संयोजक कृष्ण पौडेलले राजनीतिक दललाई चुनावी आचारसंहिता पालना गर्न निर्देशन दिएको तर केही उल्लंघनका घटना सुन्नमा आएको बताए। ‘सर्वदलीय बैठक बसेर यसबारे दलको ध्यानाकर्षण गराउँने छौ,’ उनले भने, ‘निर्वाचन आचारसंहिता नियममित रुपमा अनुगमन भइरहेको छ।’

निर्वाचन आयोगको आचारसंहिता पालना गर्दै चुनावी आचारसंहिता पालना गरेर नै  मतदाताहरुको मनछुने काम गर्दै साधारण तरिकाले नै मतदाताहरुसँग भेटघाट गर्ने र भोट माग्न बुद्दीजीवीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.