|

  • मणिकुमार श्रेष्ठ-

सुनसरीः स्थानीय तह दोस्रो चरणको निर्वाचने मिति नजिकिँदै जाँदा सुनसरीका दुई उपमहानगरपालिका धरान र इटहरीका कर्मचारीलाई यतिखेर जनप्रतिनीधि बस्ने भवन तथा फर्निचरको व्यवस्थापन गर्न भ्याई नभ्याई छ। 

निर्वाचित भएर आउने जनप्रतिनिधिहरूलाई कस्तो खालको कोठा तयार गर्ने अनि कस्तो खालका फर्निचर व्यवस्थापन गर्ने भन्ने काममा कर्मचारी व्यस्त रहेका हुन्। त्यसमा पनि कार्यालय प्रमुख, कार्यकारी अधिकृत विभिन्न स्थानीय तहको निर्वाचन अधिकृत भएर खटिएपछि निर्णय हुन नसक्दा कतिपय कामले गति लिन सकेका छैनन्। 

सुनसरीका १२ वटा स्थानीय तहमध्ये निर्वाचनको हिसाबले बढी महत्त्वका साथ हेरिएका धरान र इटहरी उपमहानगरपालिकाका प्रमुखमा को आउँछन्? अनि उनीहरूलाई आवाससहित कार्यालयको व्यवस्थापन कसरी गर्ने, भौतिक संरचना कस्तो बनाउने भन्ने काममा कर्मचारीहरू खटिरहेका छन्।

नेपाल सरकारले नै सबै स्थानीय तहमा एक करोड रुपैयाँका दरले बजेट निकासा गरिसकेको हुनाले स्थानीय तहले सोही बजेटको परिधिमा रहेर भवन, फर्निचर एवं अन्य भौतिक संरचनाको व्यवस्थापन गर्नुपर्ने हुन्छ। 

बजेट आइसकेको भए पनि धरान र इटहरी उपमहानगरपालिकाले भने कोठाहरू तथा फर्निचरको व्यवस्थापन अहिलेसम्म पनि पूर्ण रूपमा गर्न सकिरहेका छैनन्। अहिले कामचलाउको रूपमा मात्र कोठा तथा फर्निचरको व्यवस्थापन गर्न लागिरहेको यी उपमहानगरपालिकाले बताएका छन्। 

धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार धरान उपमहानगरको निर्माणाधीन नयाँ भवनमा प्रमुख तथा उपप्रमुखको कार्यकक्ष तयार गरिँदै छ। 

तत्कालका लागि प्रमुख तथा उपप्रमुखको कोठाको पार्टेसन एवं फर्निचरको व्यवस्थापन गर्नमा लागि प्राविधिकहरूले काम गरिरहेको उनले बताए। अहिले अस्थायी प्रकृतिको तयार गर्न लागिएको र जनप्रतिनिधिहरू निर्वाचित भएर आउँदा तयार गरिसक्ने खतिवडाले बताए।

‘धरान उपमहानगरका प्रत्येक वडामा फर्निचरलगायतको कार्यालय प्रयोजनका लागि चाहिने सामग्री व्यवस्थापन गर्नका लागि वडा सचिव तथा प्राविधिकहरू खटाइएको छ’, उनले भने, ‘सबै वडाका वडाध्यक्ष, सदस्यहरू साथै र उपमहानगरका प्रमुख, उपप्रमुखको लागि आवश्यक पर्ने फर्निचर खरिद गर्दा लगभग ३७ लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छौँ।’ 

यसैगरी इटहरी उपमहानगरपालिकाले प्रिफेब्रिकेशनवाला भवन निर्माण गर्न सुरु गरेको छ। १० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको सो भवन अस्थायी प्रकृतिको भएको इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर तथा निमित्त कार्यालय प्रमुख अर्जुनकुमार दाहालले बताए।

उनका अनुसार उपमहानगरका प्रत्येक वडामा फर्निचर तथा कोठा व्यवस्थापन गर्ने काम भइरहेको छ। जनप्रतिनिधिहरू निर्वाचित भएर आउँदा भवन तथा अन्य भौतिक संरचना पूर्ण रूपमा व्यवस्थित भइसक्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.