|

विराटनगरः नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको प्रमुखमा भीम पराजुलीलाई उठाउने भएको छ। 

लामो रस्साकस्सीबीच नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले बुधबार दिउँसो पराजुलीलाई प्रमुखमा टिकट दिने पक्का भएको हो। नेपाली कांगे्रस मोरङका सभापति डिकबहादुर लिम्बूले भीम पराजुलीलाई टिकट दिने पक्का भएको जानकारी दिए। ‘प्रमुखमा भीम पराजुली र उपप्रमुखमा इन्दिरा कार्की (इन्दु)लाई दिने पक्का भएको छ’, लिम्बूले भने, ‘लामो छलफलपछि टुंगो लगाउन सफल भइयो।’ 

यसअघि पराजुली, सांसद अमृत अर्याल र प्राध्यापक डा. डिला संग्रौलाको नाममा कांग्रेसमा सहमति हुन सकेको थिएन। अन्य पार्टीबाट उम्मेदवार निश्चित भइसक्दा पनि आफ्नो पार्टीको उम्मेदवार टुंगो नलागेको भन्दै कांग्रेस कार्यकर्ता निराश बनेका थिए। 

पराजुली विराटनगरका सुपरिचित व्यक्ति हुन्। यसअघि दुई पटक स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा महेन्द्र मोरङ क्याम्पसको सभापति भइसकेका पराजुली यस क्षेत्रमा परिचित छन्। 

युवा समुदायमा स्थापित पराजुली, सामाजिक, साँस्कृतिक अभियन्तासमेत हुन् भने शिक्षा क्षेत्रमा समेत उनको योगदान छ। पराजुली यसअघि भएको नेपाली कांग्रेसको नगर सम्मेलनमा अत्यधिक मतले सभापतिमा निर्वाचित भएका थिए। 

विराटनगरको प्रमुखमा नेकपा एमालेको तर्फबाट विनोद ढकाल र माओवादी केन्द्रबाट भोगेन्द्र यादवको नाम टुंगो लागिसकेको छ भने राप्रपाबाट प्रह्लाद साह प्रमुखमा प्रतिस्पर्धा गर्दै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.