विराटनगर महानगरपालिकामा भीम पराजुली र इन्दिरा कार्की

|

विराटनगरः लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले मोरङका १७ वटै स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ।

यहाँको एक मात्र महानगर विराटनगर महानगरपालिकाको प्रमुखमा युवानेता भीम पराजुलीलाई उम्मेदवार बनाएको छ भने उपप्रमुखमा इन्दिरा कार्की (इन्दु)लाई उम्मेदवार बनाउने भएको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बुधबारको बैठकले पार्टीका नगर सभापति भीम पराजुलीलाई प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।
विराटनगरको प्रमुखमा कांग्रेसबाट पराजुलीसहित सांसद अमृत अर्याल र पार्टीका केन्द्रीय सदस्य डा. डिला संग्रौला दावेदार थिए। अन्तिम समयसम्म अर्याल र पराजुलीले दाबी नछाडेपछि कांग्रेसलाई निर्णय गर्न सकस परिरहेको थियो। 

अर्याललाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन रहेको भए पनि नेता कृष्णप्रसाद सिटौला नजिक रहेको मानिएका पराजुलीले नेता रामचन्द्र पौडेल समूहको समर्थनमा उम्मेदवारी पाएका हुन्।

पराजुली विराटनगरमा विद्यार्थी राजनीतिबाटै पहिचान बनाएका व्यक्ति हुन्। उनी महेन्द्र मोरङ क्याम्पस विराटनगरको स्ववियु सभापतिमा नेविसंघको बागी उम्मेदवार बनेर विजयी भएका थिए।

मोरङका अन्य तहका उम्मेदवारको पनि लाग्यो टुंगो
नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवारको मनोनयनको दुई दिन अगाडि जिल्लाका १७ वटै स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ।

बुधबार बसेको कांग्रेसको केन्द्रीय सम्पादन समितिको बैठकले विराटनगर महानगरपालिकासहित जिल्लाका आठ नगरपालिका र आठ गाउँपालिकाका उम्मेदवार टुंगो लगाएको हो। कांग्रेसले यसअघि नै जिल्लाको उर्लाबारी नगरपालिकाको प्रमुखमा खड्ग फागो र उपप्रमुखमा सीता कार्की तथा केराबारी गाउँपालिकाको अध्यक्षमा रोहित कार्की र उपाध्यक्षमा कल्पना कटवाललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

बुधबारको बैठकले जिल्लाका सबै तहको उम्मेदवार टुंगो लगाएको कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले जानकारी दिए। 

कांग्रेसले सुन्दर हरैँचा नगरपालिकाको प्रमुखमा शिवप्रसाद ढकाल र उपप्रमुखमा विन्ध्या दाहाल थापा, पथरी शनिश्चरे नगरपालिकाको प्रमुखमा गणेशकुमार खड्का र उपप्रमुखमा प्रेमला राई, रतुवामाई नगरपालिकाको प्रमुखमा रविन राई र उपप्रमुखमा फुलवती गोडी, लेटाङ नगरपालिकाको प्रमुखमा शंकर राई र उपप्रमुखमा सुभद्रा भट्टराई, बेलबारी नगरपालिकाको प्रमुखमा राजकुमार लिम्बु र उपप्रमुखमा रुक्मणि धिमाल तथा सुनवर्सी नगरपालिकाको प्रमुखमा कालीप्रसाद दास र उपप्रमुखमा मञ्जु राईलाई उम्मेदवार बनाएको छ। 

यसैगरी गाउँपालिकातर्फ मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा मानबहादुर राई र उपाध्यक्षमा आरती बराल, धनपालथान गाउँपालिकाको अध्यक्षमा हरिलाल सिंह र उपाध्यक्षमा नसिमा वानु, ग्रामथान गाउँपालिकाको अध्यक्षमा कृष्णकुमार थारू र उपाध्यक्षमा जयमाला थारू, कटहरी गाउँपालिकाको अध्यक्षमा राजकुमार कामत र उपाध्यक्षमा मन्जिला सरदार उम्मेदवार बनेका छन्। 

त्यस्तै बुढीगंगा गाउँपालिकाको अध्यक्षमा जीतनारायण थापा मगर र उपाध्यक्षमा ज्ञानवती देवी चौधरी, जहदा गाउँपालिकाको अध्यक्षमा जितेन्द्र साह र उपाध्यक्षमा अमिता हस्दा सरदार, कानेपोखरी गाउँपालिका अध्यक्षमा केदारबहादुर थापा र उपाध्यक्षमा टंकेश्वरी याख्या उम्मेदवार बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.