|
फाइल फोटो

काठमाडौं : धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने बीपी राजमार्ग १५ दिन (१५ असार) भित्र पूर्ण सञ्चालनमा आउने भएको छ। गत ९ फागुनमा सिन्धुलीको खुर्कोट–खाल्टे खण्डमा पहिरो गएर भासिएको करिब ३० मिटर सडक १५ दिनभित्र बनाइसक्ने बीपी राजमार्ग आयोजनाले जानकारी दिएको छ। 

भत्किएको ठाउँमा निर्माण गर्नुपर्ने सडक संरचना निर्माण ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको आयोजनाका निमित्त प्रमुख राकेश महर्जनले जानकारी दिए । ‘अब भित्तामा पर्खाल निर्माण गर्ने र सडक कालोपत्रे गर्ने काम मात्र बाँकी छ,’ उनले भने।

हाल पहिरो गएको स्थानमा वैकल्पिक मार्ग प्रयोग गरी सवारी आवतजावत भइरहेको छ। नियमित सडक अवरुद्ध भएपछि पूर्वी तराई तथा मध्यपहाडी जिल्ला आवतजावत गर्न असहज रहेको छ। यस राजमार्ग हुँदै दैनिक ५ हजारको हाराहारीमा सवारीसाधन ओहोरदोहोर गर्ने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ।

गत चैतमा आयोजनाले असारअघि नै निर्माण सम्पन्न गर्ने गरी सडक सञ्चालनमा ल्याउने जानकारी दिएको थियो। ‘तर, काम गर्दै जाँदा १५ दिन ढिला भएको छ,’ निमित्त प्रमुख महर्जनले भने। आयोजनाले गत चैतभित्र नै भत्किएको ठाउँको सडक मर्मत तथा निर्माण गर्न निर्माण व्यवसायी छनोट गरी वैशाखदेखि निर्माण थालेको थियो।

सामान्यता ३५ दिनको अवधि राखेर बोलपत्र आह्वान गर्नुपर्ने भए पनि छोटो बाटो अपनाएर आयोजनाले १५ दिनभित्र निर्माण सम्पन्न गर्न व्यवसायी छनोट गरेको थियो । ‘वर्षा सुरु हुनुअघि नै काम सम्पन्न नभएमा झन् समस्या बढ्न सक्ने भएकाले निर्माणलाई तीव्र गति दिइएको छ,’ निमित्त आयोजना प्रमुख महर्जनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.