रकम अभावमा दुई छोराको उपचारमा समस्या

|

दाङ : गाउँघरमा मजदुरी गरेर पाँच जनाको छाक टार्दै आएका राप्ती गाउँपालिका–९ घोषखोला दिनबहादुरलाई श्रीमती गुमाउनुको शोक छँदैछ, भर्खरै जन्मेका दुई नवजात शिशुलाई कसरी बचाउने भन्ने समस्या थपिएको छ। 

बेलामा अस्पताल पुर्‍याउन नसक्दा श्रीमती ४१ वर्षीय पातली रोकाको रक्तश्रावका कारण मृत्यु भयाे। मंगलवार राति करिब १२ बजे घरमै जुम्ल्याहा छोरालाई जन्म दिएकी पातलीलाई रक्तश्राव नरोकिएपछि छिमेकीहरूले एक घण्टाको दूरीमा रहेको सल्ले पुर्‍याए। त्यहाँ उनको उपचार हुन सकेन।

लमहीबाट गएको एम्बुलेन्सले उनलाई बुधवार बिहानमात्र अस्पताल पुर्‍यायो। अस्पताल पुग्नेवित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरे। शिशुहरु खतरामुक्त भए पनि उनीहरुलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्थामा रहेकाे लमही अस्पतालका मेडीकल सुपरिटेन्डेन डा.ईश्वरी खनालले जानकारी दिए।

अस्पतालमा आईसीयू छैन। घोराहीको उपक्षेत्रीय अस्पतालमा पनि त्यो सुविधा छैन। बुटवल वा नेपालगञ्ज लगेर उपचार गर्ने पैसा नभएका कारण दिनबहादुर रोका समस्यामा परेका छन्। यतिसम्म  कि एम्बुलेन्सको भाडा तिर्नसमेत समस्या छ, उनलाई।

घरमा २१ वर्षका अपाङ्गता भएका छोरा रोमबहादुर, अर्की अपाङ्गता भएकी १३ वर्षकी छोरी चुमा छन्। चुमामुनि ९ वर्षको छोरा युवराज घरमै छन्। एक छोरी १२ वर्षको उमेरमा बितेकी थिइन्। घरमा रहेका छोराछोरीको लालनपालन राम्रोसंँग गर्न नसकिरहेका बेला जुम्ल्याहा छोराको उपचार कसरी गर्ने र कसरी हुर्काउने भन्ने चिन्तामा छन्, उनी। 

घोषखोलागाउँमा स्वास्थ्य चौकी छैन। सामान्य ज्वरोका लागि सिटामोल ल्याउन दुई घण्टा भन्दा बढी पैदल हिँडेर हाँसीपुर पुग्नु पर्छ । यहाँका नागरिक उपचार गराउन सिसहनियाँ स्वास्थ्य चौकी सम्म आउने गर्छन्। २२ किलोमिटर टाढा सिसहनियाँ पर्छ।घोषखोला, देवीकोटका सर्वसाधारणलाई औषधी उपचार गर्न निकै समस्या रहेको स्थानीय भेषबहादुर कार्कीले बताए।

भौगोलिक विकटताका कारण उपचार अभावमा सुत्केरी आमा तथा नवजात शिशुले ज्यान गुमाउने गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.