|

काठमाडौं : साफ च्याम्पियनसिपको तयारीस्वरूप मैत्रीपूर्ण खेलका फिलिपिन्स जान लागेको नेपाली पुरुष फुटबल टोलीलाई आईतवार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा कार्यक्रम आयोजना गरेर नेपाली टोलीलाई विदाई गरेको हो। नेपालले साफ च्याम्पियनसिपअघि ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ।

टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला, एन्फा महासचिव किरण राई लगायतले बिदाई गरेका हुन्। टोलीलाई राखेप उपाध्यक्ष शिव कोईरालासहित एन्फा पदाधिकारीले झण्डा हस्तान्तरण गरे।

बिदाईपछि नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङले नयाँ टिमबाट राम्रो नतिजाका लागि खेल्ने बताए। उनले छोटो समयको तयारीका बाबजुद पनि फिलिपिन्ससँगको खेलपछि नेपाली टोलीको साफमा कस्तो प्रदर्शन रहने थाहा हुने बताए।

भारतमा आयोजना हुन लागेको टोलीमा मिडलइस्टका टोलीले पनि सहभागिता जनाउनुले साफका स्तर बढ्ने बताउँदै साफ प्रतियोगिता प्रतिष्पर्धात्मक हुने अपेक्षा गरे। अहिले टोलीमा केही नयाँ अनुहार जसले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि डेब्यु नगरेको भन्दै प्रतियोगिता नेपालका लागि निकै चुनौतीपूर्ण रहेको कप्तान किरणले बताए। साविक विजेतासहित कुवेत जस्ता बलिया टोली भएकाले नेपालका लागि अघिल्लो चरण प्रवेश गर्नका लागि ठूलो चुनौती भएको बताए।

नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले फिलिपिन्ससँगको खेलमा नेपालले स्वाभाविक खेलका लागि प्रयास गर्ने बताए। नेपाली टोली आफ्नो खेल खेल्दै प्रतियोगिताको तयारी गर्ने बताउँदै प्रशिक्षक एनिसले बलियो फिलिपिन्ससँग विगतको नतिजा जस्तो भए पनि स्वाभाविक खेल्दै साफ खेलमा राम्रो गर्ने रणनीति बनाएको बताए।

फिलिपिन्सलाई रोक्ने भन्दा पनि राम्रो प्रदर्शन गर्नका लागि फिलिपिन्ससँगको खेल महत्वपूर्ण रहेको भन्दै उनले नेपाली टोलीमा धेरै नयाँ अनुहार भएको र उनीहरुबाट आफूले धेरै अपेक्षा गरेको भन्दै प्रशिक्षकले प्रतियोगिता राम्रो हुने विश्वास व्यक्त गरे।

भारतको बैंगलुरुमा आयोजना हुने १४औं संस्करणको साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ३ नयाँ खेलाडीलाई समेट्दै २३ सदस्यीय नेपाल टिमको घोषणा गरेका छन्।

टोलीमा प्रशिक्षक एनिसले डिफेन्डरमा विमल पाण्डे र सीमान्त थापा तथा मिडफिल्डर लाकेन लिम्बूलाई समेट्दै नेपाली टोलीको गरेका हुन्। टोलीमा विमल त्रिभुवन आर्मी, सीमान्त जावलाखेल युथ र लाकेन थ्रीस्टार क्लवका खेलाडी हुन्।

प्रतियोगिता असार ६ गतेदेखि भारतको बैंगलुरुमा शुरु हुने साफ च्याम्पियनसिपमा नेपाली टिम भारत, कुवेत र पाकिस्तान सम्मिलित कठिन समूहमा रहेको छ। समूह ए मा रहेको नेपालले ६ असारमा कुवेत, ९ असारमा आयोजक भारत र १२ असारमा पाकिस्तानसँग खेल्ने तालिका रहेको छ।

यसपल्ट साफ च्याम्पियनसिपमा मध्यपूर्वका लेबनान र कुवेतले आमन्त्रित टोलीको रुपमा प्रतिष्पर्धा गर्न लागेका हुन्। प्रतियोगिताको समूह बी मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्।

नेपालले साफ च्याम्पियसिपअघि ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली उतैबाट बैंगलुरु प्रस्थान गर्ने तालिका रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.