|

 बागलुङ : गलकोट नगरपालिकाले गत पुसदेखि हरिचौरमा नगर अस्पताल सञ्चालनमा ल्यायो। बिरामी पर्दा बागलुङ, पोखरा र काठमाडौं अस्पतालमा पुग्ने सर्वसाधारणले अहिले यहीँ उपचार गराउन पाएका छन्। 

नगर अस्पताल सञ्चालन आउनु पूर्व पनि यहाँ थुप्रै स्वास्थ्य संस्था थिए तर, नागरिकको विश्वास नहुँदा गलकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा अन्य स्वास्थ्य संस्थामा बिरामी कम जान्थे। पछिल्लो केही महिनायता गलकोट बाहिर जानेको संख्या कम भएको छ। 

पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्वास बढेको छ। अस्पतालमा विशेषज्ञ सेवा शुरु भएपछि बिरामीको संख्या पनि दिनदिनै बढ्दै गएको छ। नगरकार्यपालिकाको पौष १७ को निर्णय अनुसार वडा नम्बर ५ को हरिचौरमा नगर अस्पताल सञ्चालनमा आएपछि दुर्गम गाउँका बिरामीले पनि विशेषज्ञ सेवा पाएका छन्। हाल अस्पतालमा एक जना विशेषज्ञ डाक्टर, एक जना मेडिकल अधिकृत, नर्सिङ ६ जना, हेल्थ असिस्टेन्ट दुई जना, नर्स तीन जना, अहेव तीन जना, अनमी तीन जना, रेडियोक्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्नीसिएन एक, ल्याब असिस्टेन्ट छन्। 

नगरपालिकाले गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल बनाएको हो। अहिले अस्पतालमा विशेषज्ञ डा.राजेश पौडेल र डा. मनोज कार्कीले सेवा दिइरहेका छन्। नगर अस्पताल प्रमुख डा. राजेश पौडेलले पहिलेको तुलनामा बिरामीको संख्या बढि रहेको बताए। आफू माघ महिनामा आएको सुनाउँदै त्यस यता धेरै दीर्घ तथा अन्य रोगका बिरामीले सेवा लिएको बताए। सेवा प्रभावकारी बनाउन र घर आँगनकै अस्पतालबाट गुणस्तरी सेवा दिन अस्पताल प्रशासन गम्भीर बनेर लागेको बताए।

‘यो अस्पताल धेरै पुरानो हो। २०१६ सालमा स्थपाना भएको स्वास्थ्य केन्द्र अहिले नगर अस्पतालमा स्तरवृद्धि भएको छ। हामीप्रति नागरिकको विश्वास बढ्दै गएको छ, यहाँका डाक्टर कर्मचारीले नागरिकको विश्वास जित्ने गरी काम गर्ने कोशिस गरिरहेका छौँ’, उनले भने, ‘पहिलेका सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँदै गएका छौँ, केही उपकरण अभाव छ। त्यसलाई पनि प्रदेश सरकारसँग माग गरेर परिपूर्ति गर्ने तयारीमा छौँ।’

पहिले मासिक ३५० बिरामी आउने गरेको अस्पतालमा अहिले एकैदिन १५० बढी बिरामीले सेवा लिने गरेको अस्पतालले जनाएको छ। अहिले अस्पतालमा चौबिसै घण्टा ‘इमर्जेन्सी’ सेवा, भिडियो एक्सेर, पोस्ट मार्टम, प्रसुति सेवा, डिभियो एक्सेरे, दन्तरोगको उपचार लगायतका सेवा प्रभावकारी भइरहेका छन्।

अस्पतालमा एक जना एमडीजीपी (जनरल फिजिसिन) र एक जना एमबीबीएस डाक्टरले सेवा दिन थालेपछि बिरामी पोखरा, काठमाडौँ जानुपर्ने समस्याबाट मुक्त भएको गलकोट नगरपालिका–५ का अध्यक्ष पवन हमालले बताए। 

उनले पछिल्लो समय गलकोट नगरपालिका बाहेक ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका, बडिगाड गाउँपालिका, गुल्मीको मुसीकोट नगरपालिका लगायतबाट बिरामी आउन थालेको बताए। अस्पताल व्यवस्थापन गर्नका लागि नगरपालिकाको आन्तरिक स्रोत र प्रदेश सरकारबाटबाटै सहयोग भइरहेको अध्यक्ष हमालले बताए।

‘नगर अस्पताल संचालनमा आएपछि धेरै नागरिकलाई सहज भएको छ, पहिले हजारौँ रुपैयाँ खर्च गरेर टाढाका अस्पतालमा पुग्न बाध्य थिए, अहिले निःशुल्करूपमा नजिककै अस्पतालबाट सेवा लिन पाएका छन्’ अध्यक्ष हमालले भने, ‘अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान भइरहेको छ, एमडिजिपी, एमबीबीएस डाक्टर आएपछि सेवा राम्रो भएको छ, पहिला बिरामीलाई भर्ना गरेर राख्ने व्यवस्था थिएन। अहिले यही राखेर उपचार गरिन्छ, एम्बुलेन्स सेवा थिएन अहिले व्यवस्थित भएको छ।’ 

स्थानीय सुनिल विकले नगर अस्पताल सञ्चालनमा आएपछि गरिब नागरिकले सहजरूपमा स्वास्थ्य सेवा पाउन थालेको बताए। पहिले गाउँमा कोही बिरामी हुँदा ऋण खोजेर पोखरा काठमाडौँ पुर्‍याउने गरेको भन्दै अहिले गाउँ नजिकैको अस्पतालमा उपचार गराउन पाउँदा खुशी लागेको बताए। यहाँका स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्थामा पहिले सामान्य उपचारसमेत नहुने गरेको भन्दै अहिले विशेषज्ञ डाक्टरबाट जाँच र उपचार गराउन पाएको विक बताउँछन्।

‘पहिले यहाँका जनताले नजिकमा उपचार गर्न नपाउँदा धेरै दुःख पाए, यहाँ सामान्य उपचार पनि हुँदैनथ्यो, जटिल किसिमका उपचार हुने कुरै भएन, बिरामीलाई टाढा लैजाँदै गर्दा कतिको बाटोमै ज्यान गयो’, विक भन्छन्, ‘शहर बजारका अस्पतालमा जाँदा थोरै रकमले पुग्दैनथ्यो। गाउँ घरमा ऋण धन गरेर उपचार गर्न जानु पर्ने अवस्था थियो, अहिले यहीँ उपचार हुन थाल्यो। सामान्य मात्रै होइन, जटिल खालका रोग पनि उपचार हुन थालेका छन्।’

नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदानसँगै चालु आर्थिक वर्षदेखि जेष्ठको स्वास्थ्य परीक्षण र उपचार उनीहरुको घर–घर पुगेर गर्न थालेको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए। नगरपालिका भित्रका ६० वर्षमाथिका जेष्ठ नागरिकको सहजताका लागि घरमै पुगेर स्वास्थ्य परीक्षण तथा औषधी उपलब्ध गराउन थालेको भण्डारीको भनाइ छ। जेष्ठ नागरिक अस्पताल पुग्न समस्या हुने हुँदा नगरपालिकाले यो व्यवस्था गरेको उनले बताए।

‘वेला–वेला स्वाथ्य्यकर्मी जेष्ठ नागरिककै घरमा पुगेर उनको अवस्था बुझ्ने, स्वास्थ्य परीक्षण गर्ने, सल्लाह सुझाव दिने र आवश्यक औषधी उपलब्ध गराउने गरेका छौँ, ‘प्रवक्ता भण्डारीले भने, ‘यो नयाँ कार्यक्रम भएको हुँदा प्रभावकारी बनाउनेगरी लागेका छौँ, जेष्ठ नागरिकलाई नजिकको सरकारको अनुभूति दिलाउन लागि घरमै स्वास्थ्य सेवा दिने प्रयास गरेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.