|

भोजपुर : पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्माका स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ। कृषकहरूलाई प्रविधिमैत्री कृषिमा जोड्न सामग्री वितरण गरिएको हो।

यहाँका कृषकलाई चारवटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ वटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ थान, १५ वटा प्लाष्टिक टनेल लगायतका कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष दक्षकुमार राईले जानकारी दिए।

‘कृषकलाई आवश्यक कृषि सामग्री वितरण गरेका छौँ’, वडाध्यक्ष राईले भने, ‘गाउँपालिकाको नीतिअनुसार कृषिको विकास गर्दै यहाँका कृषकलाई आर्थिक रूपमा सक्षम बनाउने हाम्रो लक्ष्य छ। वितरित सामग्रीले कृषकलाई कृषि कर्म गर्न थप हौसला मिल्छ भन्ने अपेक्षा वडाले लिएको छ।’

कृषकलाई सामग्री वितरण गर्दै गापा अध्यक्ष किरण राईले कृषि क्षेत्रको योजनाबद्ध विकासमा गापाले भूमिका खेलिरहेको बताए। कृषकलाई व्यावसायिक कृषिमा लाग्न विभिन्न खाले प्रोत्साहनमूलक  कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ।

भौगोलिक रूपमा विभाजन गरेर गापाले कृषिको विकासमा लगानी गरिरहेको अध्यक्ष राईले बताए।

‘गापाले व्यावसायिक कृषिमा जोड दिएको छ’, अध्यक्ष राईले भने, ‘कृषकले गर्दै आएको काममा थप सहयोग पुगोस् भनेर कृषि सामग्री वितरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ। गापालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ काम गरिरहेका छौँ।’

स्वास्थ्य, शिक्षा, कृषि, पयर्टन, सडक, खानेपानीसँगै भौतिक पूर्वाधारको योजनाबद्ध विकास गर्दै नमूना गापा बनाउने संकल्पका साथ काम गरिरहेको अध्यक्ष राईको भनाइ छ। स्थानीय सरकार भएको अनुभूति गराउने उद्देश्यका साथ  विकासका गतिवधि सञ्चालन गरिरहेको अध्यक्ष राईले जानकारी दिए।

‘गापाका सबै क्षेत्रको विकासमा उत्तिकै महत्व दिएका छौँ’, अध्यक्ष राईले भने, ‘योजनाको प्राथमिकीकरण गरेर लगानीको आधार तयार गरिएको छ। नमूना गापा बनाउने हाम्रो संकल्प छ।’

सामग्री वितरणले कृषिकलाई कृषिमा लाग्न थप टेवा पुग्ने गापा उपाध्यक्ष ज्योत्सना राईले बताइन्। आफ्नो नेतृत्वमा महिला विकास बोर्ड गठन गरेर महिलालाई कृषि तथा उद्यममा लाग्न प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनको छ।

महिलालाई कृषि उद्यममा जोड्ने लक्ष्यले ६ वटै वडामा एक लाख बराबरको थप कार्यक्रम सञ्चालन भइरहेको उपाक्ष्यक्ष राईले जानकारी दिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.