|

भक्तपुर : प्रस्फुटन इन्टरनेशनल एकेडेमी, सिनामंगलका सन्तोष अर्याल शुक्रबार बिहान परीक्षा नियन्त्रण कार्यालय सानोठिमी परिसरमा भौतारिइरहेका थिए। उनका बुबा कार्यालय भित्र र बाहिर गरिरहेका थिए। 

शुक्रबार विहान १० बजे २०७३ सालको माध्यमिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भयो। सन्तोष पनि एसईई परीक्षामा सहभागी भएकाले परीक्षाफल हेर्न आएका हुन्। उनका बुबाले सन्तोषको सिम्बोल नम्बर कागजमा टिपेर, 'खै, कतै भेटिइहाल्छ कि!'  भन्दै कागज हातमा लिएर परीक्षा नियन्त्रण कार्यालयभित्र छिरे।

'ए प्लस' नभए 'ए' आउने अपेक्षा लिएर शुक्रबार बिहानै परीक्षा नियन्त्रण कार्यालय पुगेका थिए सन्तोष। परीक्षाफल प्रकाशित भएपनि उनको नतिजा कस्तो आयो भन्ने उनलाई थाहा हुन सकेको छैन। उनले हामीसँग भने, 'भ्यालु घटेको छ नि, पहिला तपाईंका पालाको जस्तो रौनक छैन।' उनलाई 'ग्रेडिङ सिस्टम'ले विद्यार्थी परीक्षाफल प्रति आकर्षण नरहेको बुझाइ छ।

करिब १० बजे परिक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाफल सार्वजनिक गरे। रेग्मीले ३.२ देखि ३.६ जीपीए ल्याउने परीक्षार्थी ४२ हजार ४ सय २७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ५० हजार ६ सय ४६ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने ६१ हजार ९ सय ५५ जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ९१ हजार ३ सय १४ र १.६ देखि २.४ जीपीएसम्म ल्याउने परीक्षार्थी १ लाख ८ हजार ४ सय ६४, ६४ हजार ५ सय ७५ जनाले १.२५ देखि १.६० र ११ हजार २ सय ८५ जना परीक्षार्थीले ०.८५ देखि १.२० जीपीए ग्रेडिङ अंक प्राप्त गरेको विवरण सार्वजनिक गरे।

उनले उक्त नतिजा अनलाइनमार्फत सार्वजनिक हुन एक घण्टा जति समय लाग्ने बताएका थिए। परीक्षाफल पहिलेजस्तो भित्तामा टाँसिएको थिएन। विद्यार्थीहरु भने परीक्षाफल भित्तामा टाँस्छ होला भनेर पनिका पुगेका थिए।

भक्तपुरका सुजन काफ्ले पनि परीक्षाफल नेटमा अपलोड ढिलो होला, पनिकाले भित्तामा टास्छ होला र हेरौंला भन्दै साथीहरुसँग पनिका पुगेका थिए। तर उनले सोचेजस्तो थिएन। पनिका प्रांगणमा कर्मचारी, सञ्चारकर्मी र औंलामा गन्न मिल्ने संख्यामा विद्यार्थी थिए। उनी भन्दैथिए, 'हेर्नै पाइएको छैन, झन् यहाँ आएको छिटो हेर्न पाइन्छ भनेर। अब वेवसाइटमै गएर हेर्नपर्ला।'

उनी बोल्दै गर्दा मोबाइल फोनको घण्टी बज्यो। फोन गर्नेले बधाइ भनेछन्। उनले सोधे, 'के को बधाइ नि! रिजल्ट त हेर्न पाइएको छैन। म पनिकामै छुं', '… के मा हेर्‍यौ नि?', 'ए'। उनी घर गएरै रिजल्ट हेर्छुं भन्दै बाहिरिए।

आदर्श माध्यमिक विद्यालय सानोठिमीबाट एसईई परीक्षा दिएकी रोजिना तामाङ साथीसँग परीक्षाफल हेर्न आएकी थिइन्। पनिकामा पुगेपछि उनले थाहा पाइन् नतिजा त वेवसाइटमै हेर्नुपर्ने रहेछ भन्ने। एकछिन परीक्षा नियन्त्रण कार्यालयका बोर्डमा परीक्षाको नतीजा टाँस्छ कि भनेर नियालिन् र भित्ता पनि हेरिन्। परीक्षाफल वेवसाइटमा सार्वजनिक हुने थाहा पाएपछि उनी मोबाइल चलाउन थालिन्।

पनिकामा उपस्थित कर्मचारी र सञ्चारकर्मी एसएलसी परीक्षाफल आएको दिनको तामझाम र ढुकढुकीको वर्णन गरिरहेका थिए। उनीहरु अहिले भने यसको क्रेज घटेको भन्दै थिए।

परीक्षाफल सार्वजनिक हुने दिन पोहोरसम्म नतीजा थाहा पाउन आउने विद्यार्थीको भीडभाड हुने भएपनि यसपाली भने सुनसान थियो। इन्टरनेटको माध्यमबाट हातहातमा परीक्षाफल हेर्न मिल्ने भएकोले यसो भएको हुनसक्ने नियन्त्रक रेग्मीले बताए। विद्यार्थीहरु भने एसईई परीक्षाप्रति घट्दो आकर्षणको रुपमा यसलाई अर्थ्याइरहेका थिए।

वि. सं. १९९० देखि सुरु भएको एसएलसी परीक्षा गतवर्षदेखि एसईई मा परिणत भएको छ। विगतमा अंकका आधारमा परीक्षाफल प्रकाशित गरिन्थ्यो भने २ वर्षयता भने ग्रेडका आधारमा परीक्षाफल प्रकाशित गरिदै आएको छ। यो सालको परीक्षाफल संघीय संरचना अनुसार विश्लेषण गर्न मिल्नेगरी प्रकाशन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.