|

  • रमेश रावल-

कालीकोटः जिल्लाको खाँडाचक्र नगरपालिका– ६ दाहाँका मीनबहादुर शाहीको घरमा २०५४ सालमा आगलागी भयो। घरमा भएको सबै सम्पत्ति आगोले खरानी बनायो। 

घरमा केही गरी खान नसक्ने अवस्था भएपछि उनी परिवार पाल्नका लागि भारत हान्निए। भारतको कमाइले परिवार पाल्न गाह्रो भयो। 

वि.सं. २०६४ देखि सुर्खेतमा बस्न थाले। सुर्खेतमा बसिरहेका बेला कर्णाली राजमार्गले ट्र्याक खुल्यो। उनले पनि कर्णाली राजमार्गको ट्र्याक खुलेसँगै आफ्नो भाग्य र भविष्यको मार्गचित्र खुलेको महसुस गर्दै आफ्नै गाउँमा फर्किएर तरकारी खेती गर्न थाले। 

गाउँमा नै तरकारी खेती गर्दा आत्मनिर्भर मात्र बनेनन् शाही, जिल्लाकै अगुवा किसानसमेत भए। अहिलेसम्म थुपै्र पुरस्कारसमेत पाइसकेका छन् उनले।

पौरख र मेहनत गर्न सके आफू र बालबालिकाको भविष्य सुन्दर बनाउन सकिन्छ भन्ने अरूलाई सिकाउँदै हिँड्ने किसान शाही २०५४ सालमा घरमा आगलागी धेरै ठाउँमा भौँतारिए। ‘घर छोडेर एक वर्ष मान्म बजार बसेँ, केही सीप नलागेर पुनः भारतमा पाँच वर्ष बिताएँ, त्यहाँ पनि केही हुने राम्रो लक्षण देखिएन फेरि फर्केर एक वर्ष सुर्खेत बसेँ अनि पुनः आफ्नै घरमा फर्किएँ’, शाही भन्छन्, ‘२०६५ सालबाट आफ्नो जन्मस्थान फर्किएर पुनः कृषि पेशा अंगालेँ।’ 

उनी जो जहाँ गए पनि जता भौँतारिए पनि खेती किसानी राम्रो गर्ने हो भने भाग्य र भविष्य खेतीमै फल्ने बताउँछन्।

शाही कालीकोट जिल्लाकै उत्कृष्ट कृषकको रूपमा परिचित छन्। यस वर्ष उनले राष्ट्रपति पुरस्कारसमेत पाए। २०६५ सालदेखि कृषि पेशा सुरु गरेका उनले उत्पादन गरेको तरकारी गाउँका अरूले खानै मान्दैनथे रे! ‘मैले गाउँमा तरकारी उत्पादन गरेँ तर होटेलमा लग्यो, गाउँमा लग्यो, तरकारी खानै नमान्ने’ उनले रोचक कुरा सुनाए, ‘आफैँले होटलमा लगेर तरकारी पाकाएर खान दिएपछि स्थानीय व्यापारीहरूले मीठो मानेर खाए। त्यसपछि मात्र मैले उत्पादन गरेको तरकारी बिक्री हुनथाल्यो।’

शाही पहिलो पटक तरकारी खेती सुरु गर्दाताका ६० बोट बन्दा रोपेर १० हजार रूपैयाँ आम्दानी भएपछि हौसिएका थिए। दोस्रो पटक बारीमा लगाएको बन्दा कालीकोटबाट डोकोमा बोकेर बिक्री गर्न जुम्ला पुर्‍याएको अनुभव उनीसँग छ। ‘अहिले जस्तो गाडी सहज चल्दैनथ्यो। डोकोमा बोकेर जुम्लासम्म लगेर बन्दा बिक्री गरे पनि डोको असुल भएन’, उनले सुनाए। त्यसपछि बन्दाभन्दा टमाटर खेती गर्नुपर्ने सोच बनाए उनले। उनले भने, ‘टमाटर खेती गर्दा राम्रो आम्दानी भयो।’

अहिले शाहीले बारीमा मौसमी, बेमौसमी सबै तरकारी उत्पादन गर्ने गरेका छन्। उनले वर्षको पाँच लाख रुपैयाँ आम्दानी गर्ने बताए। ‘छोराछोरीलाई समेत राम्रोसँग पढाउन सफल भएको छु’, उनले बारी लगाएको तकारी देखाउँदै भने, ‘यो बारीमा उत्पादन भएका तरकारीहरूमा बिषादी प्रयोग गरिएको छैन।’ 

स्थानीय जैविक झारको प्रयोगसँगै उनले भैँसीको मुत्र र अन्य स्थानीय झारलाई बिषादीको रूपमा प्रयोग गर्दै आएका छन् उनले।

पहिला दुर्गम ठाउँ र भाग्यले ठगिएका भन्नेहरूले कर्म गर्न सकेमा आफू र आफ्नो भविष्य उज्वल पार्न सकिन्छ भन्दै उनले भने, ‘यो कुरा अरूलाई पनि भनिदिनु होला।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.