|

बागलुङ : ढोरपाटन नगरपालिका–८ र ९ मा २०७७ भदौ १७ गते भीषण बाढी आयो । बाढीले सयौँलाई घरबार र परिवारका सदस्य विहीन बनायो। बाढीमा परेका १५ जनाको अझै पत्तौ छैन। 

यो वर्ष पनि बर्खा सुरु हुन लाग्यो। हरेक दिन सिमसिम पानी परिरहेको छ। अलि ठूलो पानी पर्‍यो भने स्थानीय राति उठेर खोलामा पानीको बहाव कति छ भनेर हेर्न पुग्छन्। तीन वर्षअघि बाढीमा जनधन गुमाएकाहरू अहिले पनि उत्तिकै त्रासमा छन्। 

भएभरको सम्पत्ति र आफन्त गुमाउने मध्येका स्थानीय निमप्रकाश विक पनि हुन्। बाढीले उनकी श्रीमती  २५ वर्षीया चनी, ९,२ वर्ष र २२ दिनका तीन छोरासहित भएभरको जायजेथा सबै बगाएको थियो। परिवारका सबै सदस्य बाढीमा परेपछि निमप्रकाश एक्लो बने। बाढी आउँदाको रात आफू बुकीमा पूजा गर्न गएको हुँदा आफ्नो ज्यान बचेको उनी बताउँछन्।

‘बाढीले परिवार नै लगेको तीन वर्ष बित्यो। अहिले पनि उनीहरूको झझल्को आइ रहन्छ। यो खोलामा कहिल्यै पनि त्यसरी बाढी आएको थिएन। म बिहानै लेकतिर गएको थिएँ। भोलिपल्ट फर्केर आउँदा श्रीमती, छोराछोरी र सम्पत्ति केही थिएन’, उनले भने, ‘जसरी पनि बाँच्न पर्दो रहेछ, अहिले जसोतसो दैनन्दिन चलिरहेको छ।बर्खा लाग्न थाल्यो। फेरि पनि त्यस्तै घटना हुन्छ कि भन्ने डरले सताइरहन्छ।’

अहिले उनी ढोरपाटन नगरपालिका–९ सुप्राङमा घर बनाएर बसेका छन्। भौगोलिक हिसाबले दुर्गम र अप्ठ्यारो भू–भाग हुँदा पानी पर्दा जाग्राम बस्नु पर्ने अवस्था रहेको उनी बताउँछन्। बाढीले सबै सम्पत्तिसमेत बगाएको र काम गरेर खाने जग्गाजमिन समेत कतै नभएको विकले दुखेसो पोखे । नगरपालिका तथा विभिन्न संघ संस्थाबाट सहयोग प्राप्त भएको रकमले घर बनाए पनि गरिखाने मेलो भने नभएको उनले बताए। 

त्यही बाढीमा ढोरपाटन नगरपालिका–९ का कुलबहादुर विकका परिवार चार सदस्य परे। बाढीले उनको घर जग्गा जमिनसहित २२ वर्षका छोरा, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षकी नातिनी बगाएको थियो । बाढीले घरविहीन बनाएपछि विक परिवार लामो समय ससुरालीको आश्रय लिएर बसेको थियो । अहिले ऋण धन गरेर ढोरपाटनमा घर बनाएका छन्। बाढी आउँदाको रात विक श्रीमती, कान्छो छोरा र दुई बहिनी छोरीसहित गाउँमाथिको बारीमा गएका थिए । आफूहरू बारीमा गएको बेला बाढी आउँदा ज्यान बचेको कुलबहादुर बताउँछन् ।

‘बाढी आउँदाको दिउसो दुम्सीले मकै खाएर हैरान पारेको थियो, त्यही भएर घरमाथिको बारीमा दुम्सी लखेट्न गएका थियौँ, त्यही सानो गोठ थियो र हामी गोठमै बस्यौँ, भोलीपल्ट तल झर्दा घरको नामनिसाना केही थिएन, छोरो, बुहारी, छोरी र नातिनी पनि थिएनन्’,विकले सम्झना गरे, ‘सायद हाम्रो पिठो सकिएको रै‘नछ र बच्यौँ। त्यो दिन माथि गोठमा नगएको भए हामी सबैको एउटै चिहान हुने रै’छ। त्यो दिनको सम्झनाले अहिले पनि तर्साइरहन्छ।’

बाढीले ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ का १३१ घरमा क्षति पुर्‍याएको थियो भने ११ वटा जलविद्युत आयोजनाको गृह तथा नहर, एक स्वास्थ्य इकाइ, ११ झोलुंगे पुल, ढलान पुल पाँच वटा काठेपुल १० र दुई विद्यालयसमेत बगाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.