|

दैलेख : पछिल्लो समय विदेशिने युवायुवतीको सङ्ख्या बढ्दो छ। नेपालमा रोजगारीको अभाव देखाउँदै बाह्य मुलुकमा कामको खोजीमा भौतारिने युवाको सङ्ख्या बढे पनि केही युवायुवती भने आफ्नै ठाउँमा व्यावसायिक कृषि पेसामा होमिएका छन्।

यस्तै एक उदाहरण हुन्, जिल्लाको नारायण नगरपालिका–६ की दुर्गा भट्टराई। २२ वर्षीया दुर्गा बीएड चौथो वर्षमा अध्ययनरत छन्। पढाइसँगै उनले व्यावसायिक तरकारी खेती गरी महिनामा २० हजारसम्म आम्दानी गर्छिन्।

केही वर्षअघि खर्च धान्न नसकेर पढाइ रोकेकी दुर्गाले तरकारी खेतीबाट आम्दानी गर्दै पढाइ अघि बढाएको बताइन्। ‘खर्च धान्न मुस्किल परेपछि पढाई बीचैमा छाड्नु परेको थियो। करिब एक वर्ष अघिबाट सुरु गरेको तरकारी खेतीबाट हुने आम्दानीले पढाइलाई निरन्तरता दिएकी छु’, उनले भनिन्।

परिवारमा आफू मात्र नभई भाइबहिनीलाई समेत पढाउनुपर्ने भएकाले खर्च नपुगेका कारण आफूले पढाइ रोक्नुपरेको दुर्गाले बताइन्। उनले अहिले व्यावसायिक तरकारी खेतीबाट हुने आम्दानीले आफ्नो पढाइसँगै भाइबहिनीको पढाइमा लाग्ने खर्च व्यहोर्दै आएकी छन्।

अहिले दुर्गालाई तरकारी खेतीबाट हुने आम्दानीले परिवारको अन्य खर्च जोहो गर्न समेत सहज हुने गरेको छ।

एक वर्ष अघिसम्म खाली समय बिताउने गरेकी उनले अहिले खुर्सानी, काँक्रा, आलु, प्याजलगायतको तरकारी खेती गर्दै आएकी छन्। उनले गाउँका सरकारबाट तरकारी खेतीका लागि एक थान टनेल मात्र सहयोग पाएको बताइन्।

दुर्गाले स्थानीय सरकार लगायतका सम्बन्धित निकायले तरकारी खेतीका लागि पुग्ने पानीको व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरिन्।

पावर परियोजनाले व्यावसायिक कृषि खेती गर्न विभिन्न तालिम र आर्थिक सहयोग गरेको दुर्गाको भनाइ छ। उनलाई विभिन्न चरणमा व्यावसायिक कृषि तालिम र दुई किस्तामा गरी ५१ हजार रुपैयाँ सहयोग गरेको परियोजनाका फिल्ड अफिसर बाबुराम आचार्यले बताए।

त्यसैगरी दुर्गा जस्तै नारायण नगरपालिका–५ धिताहमा सिलाइकटाइ व्यवसाय गर्दै आएकी रविनाकुमारी खड्का (थापा)ले आफ्नै ठाउँमा महिनामा १५ हजार कमाउँदै आएकी छन्। तालिमबाट सिकेको सीप प्रयोग गर्दै उनले मासिक १५ हजारभन्दा बढी कमाउने गरेको बताइन्।

त्यसैगरी नारायण नगरपालिका–६ बसपार्कमा खुद्रा व्यापार सञ्चालन गर्दै आएकी नन्दाकुमारी खत्री, गीता न्यौपाने र नगरपालिका–३ प्युँउसेमा खाद्यपसल सञ्चालन गर्दै आएकी मञ्जु आचार्य आफ्नै ठाउँमा भएको कमाइबाट सन्तुष्ट छन्।

पावर परियोजनाले शिक्षा, जीविकोपार्जन, स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा काम गर्दै आएको परियोजनाका कार्यक्रम अधिकृत टेकराज न्यौपानेले बताए।

एभरेष्ट क्लब दैलेख र सेभ द चिल्डेनको आर्थिक सहयोगमा सञ्चालित पावर र पहुँच परियोजनाले उपयोगी तालिम, उद्यमशील तालिम, व्यावसायिक परामर्श तालिम, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएको एभरेस्ट क्लब दैलेखका सचिव कृष्ण केसीले बताए।

उनले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नका लागि स्थानीय सरकार र सहयोगी निकाय हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.