|

बागलुङ : वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो। त्यसपछि अहिलेसम्म पानी परेको छैन। 

लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन्। लामो समय खडेरी पर्दा ब्याडमा धानको बीउसँगै बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेपछि कृषक चिन्तित छन्। 

अघिल्ला वर्षमा यति बेला यस क्षेत्रका खेतमा कृषकले धान लगाउन सुरु गर्थे। वर्षा नहुँदा खोलानालासमेत सुकेका छन्। खोलानाला सुक्दा सिँचाइको चरम अभावमा रहेका किसानलाई धानको बीउ र कुटाउने बेलाका मकै जोगाउन हम्मे परेको छ।

जेठ अन्तिम सातदेखि रोपाइँ गर्ने किसान यति बेला आकाश हेर्दै बस्न बाध्य छन्। कतिपय किसानको ब्याडमा रोप्नका लागि तयार भएका बिरुवासमेत सुकेर मर्न थालेका हुन्। असार सुरु हुँदासमेत पानी नपर्दा धानको बीउ, मकै तथा अन्य तरकारीसमेत सुक्न थालेको कृषकको गुनासो छ। अघिल्ला वर्षमा यति वेला धेरै ६० प्रतिशतको हाराहारीमा रोपाइँ हुने गरेकोमा यस वर्ष करिब २० प्रतिशत मात्रै रोपाइँ भएको बडिगाडका कृषक प्रेमबहादुर क्षेत्रीले बताए। लामो खडेरीका कारण धानसँगै मकै र कोदोको बीउ सुकेको उनको भनाइ छ।

‘जेठको २०/२२ मै रोपाइँ गर्ने भनेर वैशाख महिनामै ब्याड राखियो, अहिले धानको बीउ हुर्किएर ठूलो–ठूलो भएका छन्, पानी पर्दैन, अब कसरी रोपाइँ गर्ने, ब्याड राख्ने बेलामा त बर्खा लागेजस्तै लगातार हप्ता दिन पानी पर्‍यो। यसपालि छिटै रोपाइँ गर्न पाइने भयो भन्ने लागेको थियो, अहिले धेरै दिन भयो पानी परेको छैन, बारीमा एकोहोराउने बेलाका मकै मर्न थाले, कोदोको बीउ पनि त्यस्तै भएको छ, बढो समस्या पर्‍यो। बीउ जोगाउनै गाह्रो भयो।’

स्थानीय कृषक तुलबहादुर जिसीले पहिले असार महिना सुरु हुनुपूर्वनै ढपक्क बर्खा लाग्ने हुँदा किसानलाई खेतीपाती गर्न सहज हुने गरेको भन्दै अहिले खडेरीले गर्दा समस्यामा परेको बताए। पानी नपर्दा ठाडो खोला सुकेको हुँदा सिँचाइ गर्न नपाएको उनको भनाइ छ।

अर्की किसान निलमाया विकले वैशाख पहिलो हप्ता झरेको मकै जेठ दोस्रो साता कुटाएको भन्दै त्यसयता पानी नपर्दा बारीमा लगाएको सबै मकैको बिरुवा सुकेर नष्ट हुन थालेको बताइन्। मकैसँगै लगाएको कोदोको बीउ पनि कामै नलाग्ने गरी सुकेको उनले सुनाइन्। घर नजिक छेउमा रहेको बारीमा खानेपानीको पाइपबाट पानी लगाएर केही मकै र कोदोको बीउ हुर्काएको उनको भनाइ छ।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले हालसम्म जिल्लाभर १२ प्रतिशत मात्रै रोपाइँ भएको जानकारी थिए। लामो समय खडेरी पर्दा कृषकले बीउ तयार गरे पनि रोपाइँ गर्न नसकेको उनले बताए। उनका अनुसार यति वेलासम्म जिल्लामा २५ प्रतिशत रोपाइँ सकिनुपर्ने थियो। वैशाखको वर्षाले कृषक उत्साहित भएर धेरै बीउ उत्पादन गरेको हुँदा रोपाइँ क्षेत्रफल बढ्न सम्भावना बढेको प्रमुख भट्टराईले जानकारी दिए।

‘गत वर्ष पाँच हजार ८८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो, अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर छ हजार हेक्टरमा रोपाइँ हुन्छ भन्ने लागेको थियो। खडेरीले गर्दा केही समस्या परेको छ’, प्रमुख भट्टराईले भने, ‘अब वर्षा भयो भने पनि किसानले धेरै नोक्सानी ब्यहोर्नुपर्ने थिएन, जिल्लामा अझै ७५ प्रतिशत रोपाइँ गर्न बाँकी छ।’

बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार ५२३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ। त्यसमध्ये छ हजार १४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ। खेतीयोग्य जमिनको २०.१५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ। त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार ७७५ हेक्टर छ।

पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाँझो हुँदै गएका छन्। गाउँमा प्रसस्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा बाँझै राख्नुपरेको कृषकको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.