|

  • नमीन ढकाल-

इलाम :  असार १४ मा हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ। १० वटा स्थानीय तह रहेको इलाममा निर्वाचन सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला सुरक्षा समितिले तयारी पूरा गरेको जनाएका हुन्।

१ सय ४४ वटा मतदानस्थलमा २ सय ४९ मतदान केन्द्र रहेको इलाममा निर्वाचन सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालयले २ हजार २ सय ५५ कर्मचारी निर्वाचनमा खटाउँदै छ। निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक अधिकृतको तालिम सकेर मतदानमा आवश्यक पर्ने ६४ प्रकारका सामाग्री सम्बन्धित केन्द्रमा पठाउन तयारी अवस्थामा राखिएको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लले बताए।

निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन कार्यालयले मतदाताको संख्याका आधारमा प्रत्येक मतदान केन्द्रमा पठाउने मतपत्र प्याकेजिङ सकेको छ। मतदान केन्द्रमा खट्ने कर्मचारी पदस्थापन सकेपछि कार्यालयले निर्वाचन सामग्रीसँगै मतपत्र पठाइने मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताए।

मतदानस्थलको संवेदनशिलता छुटयाइयो ।

जिल्ला सुरक्षा समितिले इलामका १ सय ४४ मतदानस्थलको संवेदनशिलता वर्गिकरण गरेको छ। समितीले जिल्लाका २७ मतदानस्थल अति संवेदनशील, ३३ संवेदनशिल र ८४ वटा सामान्यको सूचीमा राखेर निर्वाचनको सुरक्षाका लागि सबै तयारी पूरा गरेको हो।

भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।तीन घेरामा हुने निर्वाचन सुरक्षाका लागि १ हजार ८ सय नेपाल प्रहरी, ४ सय शसस्त्र प्रहरी र ६ सय नेपाली सेना १० वटै स्थानीय तहमा परिचालन भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.