|

काठमाडौं : वर्षाको समय सुरु भएसँगै डेंगुको जोखिम बढेको छ। पानी पर्ने मौसममा डेंगु संक्रमण गराउने लामखुट्टे धेरै फैलने हुँदा यस्तो मौसम डेंगु संक्रमण देखिने समयको रूपमा चिनिन्छ।

यो वर्ष वर्षाको मौसम सुरु हुनुभन्दा केही समय अघिदेखि नै नेपालमा डेंगुका विरामी भेटिन थालेका छन्। गत वर्ष समयमै सतर्कता नअपनाउँदा काठमाडौं उपत्यका सहित चितवन‚ मकवानपुर लगायतका जिल्लामा डेंगुले महामारीकै रूप लिएको थियो। वर्षाको मौसम सुरु हुनअगावै डेंगुका विरामी देखिन थालेपछि सरकारले योपटक समयमै डेंगु संक्रमणको जोखिम कम गर्न र संक्रमण देखिए समयमै नियन्त्रण गर्नका लागि तीव्र तयारी थालिसकेको छ।

यसैअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु जोखिम कम गर्ने तयारी गरेको छ।

महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा जनक अधिकारीका अनुसार हाल  विभागले गत वर्ष पाँच सयभन्दा धेरै डेंगु विरामी रिपोर्टिङ गरेका अस्पतालका डेंगु उपचारमा खटिएका चिकित्सक तथा अस्पतालका प्रतिनिधिहरूलाई डेंगु संक्रमण फैलन नदिने र संक्रमितको उपचारका विषयमा छलफल गरेको छ।

यस्तै गत वर्ष ५ सयभन्दा धेरै डेंगु विरामी रिपोर्टिङ भएका काठमाडौं,ललिपुर, भक्तपुर, चितवन‚ दाङ‚ धादिङ‚ रूपन्देही लगायतका जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुख र स्वास्थ्य शाखा प्रमुखहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

यसका साथै महाशाखाले केही दिनमै गाडी मर्मत गर्ने वर्कशपका सञ्चालकहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको कीटजन्य शाखाका जनक अधिकारीले बताए।

उनले भने‚ ‘यसअघि ५० भन्दा बढी विरामी रिपोर्ट भएका स्थानीय तहदेखि गाडी मर्मत गर्ने वर्कशपका सञ्चालकहरूसँग समेत छलफल गर्ने कार्यक्रम छ। पानी परेपछि वर्कशपमा रहेका धेरै टायरमा पानी जम्ने र त्यही लामखुट्टेले लार्भा बनाएपछि लामखुट्टे फैलने हुँदा डेंगुको जोखिम बढ्छ। त्यसलाई कम गर्न पनि वर्कशप सञ्चालकहरूसँग समेत छलफल गर्न लागिएको हो।‘

यसैगरी योपटक एउटा डेंगुका विरामी देखिएको स्थानीय तहमा पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाले डेंगु फैलन नदिने भन्दै पत्र पठाएको समेत अधिकारीले बताए। ‘अहिले एउटा मात्रै डेंगुका विरामी देखिएको स्थानीय तहमा पनि पत्र पठाएर संक्रमण फैलन नदिन ताकेता गरिएको छ। गत वर्षको अपेक्षा हालसम्म खासै संक्रमण फैलिको छैन तर अब संक्रमण फैलन मौसम सुरु भएकाले सतर्क रहनुपर्ने अवस्था आएको छ’, उनले भने।

गत वर्ष साउनदेखि गत कात्तिकसम्म काठमाडौं उपत्यकासहित देशभर डेंगु संक्रमण तीव्र फैलिएको थियो। यो अवधिमा ५४ हजार ७८४ जनामा डेंगु संक्रमण भएको थियो भने डेंगुकै कारण ८८ जनाले ज्यान गुमाएका थिए।

नेपालमा सन् यसअघि पनि २०१० मा तराईका रूपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो। नेपालमा पहिलोपटक सन् २००६ मा चितवनमा पहिलोपटक डेंगु पुष्टि भएको थियो।

डेंगु संक्रमणको जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित रहन आग्रह गर्दै आएको छ। मन्त्रालयले पूरा बाहुला भएका लुगा लगाउन, झुलभित्र मात्र सुत्न, झ्यालढोकामा जाली राख्न, घर कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन आग्रह गरेको छ।

यसका साथै घरवरपरका खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने,साँझबिहान करेसाबारीमा जाँदा, घर बाहिर वा पार्कमा जाँदा, बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउन समेत मन्त्रालयले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.