|

पाल्पा : जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहाले दुइभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मानस्वरूप प्रोत्साहन भत्ता दिने भएको छ।

तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई प्रोत्साहन भत्ता दिइनेछ। बच्चाको जन्म दर्तासँगै उनीहरूले नगद ५ हजार भत्ता पाउने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।

यो कार्यक्रम आगामी आर्थिक वर्षको साउन महिनादेखि लागू हुनेछ। अहिले बढीमा दुई सन्तान जन्माउने चलन छ। वडामा जनसंख्या वृद्धि गर्नका लागि पनि यो नीति लिएको उनले बताए। २ भन्दामाथि जतिजना सन्तान जन्माए पनि जन्म दर्ता गर्न आउने परिवारलाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ। जन्म दर्तासँगै प्रोत्साहन भत्ता दिइनेछ।

गाउँमा जनसंख्या घट्दै गएको छ। काम गर्ने जनशक्तिको अभाव हुन थालेको छ। ‘नेपाल’ कृषि प्रधान देश भएको सरकारले नै भन्दै आएको छ। बजेट पनि कृषिमा नै बढी विनियोजन भएको अवस्था छ। तर कार्यान्वयन पक्ष उपलब्धिमूलक छैन। कृषि गर्ने मानिसको अभाव छ। खेतबारी बाँझिएका छन्। यहाँका नागरिक भोकै मर्नुपर्ने अवस्था दिनानुदिन सिर्जना हुँदै गएको छ। खानकै लागि परनिर्भर बन्न परिरहेको छ।

धेरै सन्तान जन्माए नै काम गर्ने जनशक्ति उत्पादन हुने उनले स्पष्ट पारे। अलिअलि उत्पादन भएको खेती जोगाउन पनि जंगली जनावर लखेट्ने मानिस गाउँमा नभएको उनी बताउँछन्।

‘गाउँमा जेष्ठ नागरिक र अधिकांश महिला मात्रै छन्। जंगली जनावर घरभित्रै पसेर अन्नपात खोसेर लैजाने गरेका छन्। यसको रोकथामका लागि जन्मदर बढाउनुपर्छ। नत्र कृषिलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुको कुनै अर्थ छैन्। आधुनिक प्रविधिको उपयोग गर्ने जनशक्ति छैनन्’ उनले भने।

गाउँका विद्यालय रित्तिँदै गएको भन्दै उनले गुनासो गरे। पहिला जनसंख्या बढी थिए। विद्यालय थोरै थिए। अहिले तीनै विद्यालयमा पढ्ने बालबालिका छैनन्। सरकारले विद्यार्थी नभए विद्यालय मर्ज गर्ने नीति लिएको छ। नजिकको विद्यालयलाई टाढाको विद्यालयमा मर्ज गर्दा बालबालिका अध्ययन गर्न जान छाडेका छन्। बजारमा बसेर पढ्ने उनीहरूको आर्थिक अवस्था छैन्। घण्टौ हिंडेर विद्यालय जानुपर्ने बाध्यताले बालबालिका पढ्नबाट वञ्चित भएका उनले बताए।

जन्मदर बढाउने खालका तीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाए। शिक्षा र स्वास्थ्य पूर्ण रुपमा निःशुल्क बनाउनुपर्छ। आधुनिक शिक्षाको व्यवस्था यहीँ मिलाउनुपर्छ। नेपालको शिक्षालाई समय सापेक्ष बनाइनुपर्छ। पढ्नका लागि विदेश जान दिइनु हुँदैन।

अधिकांश मानिसलाई कृषिमा लाग्न प्रोत्साहित गर्नुपर्छ। त्यही खालको शिक्षामा आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्छ। उनीहरूले उत्पादन गरेका आधारमा राजश्व लिनुपर्छ। लिएको कर शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्छ। शिक्षा र स्वास्थ्य निःशुल्क बनाउन सके मानिसलाई धेरै पैसा नचाहिने उनले बताए। विकसित मुलुक यसका उदाहरण रहेको उनले सुनाए। जति धेरै जनसंख्या हुन्छ। त्यति नै मुलुकलाई फाइदा हुने वडाध्यक्ष पोखरेल बताउँछन्। 

उनी थप्छन् ‘जनसंख्या बढेमा नजिकका विद्यालय सञ्चालनमा आउँछन्। बालबालिकाले अध्ययन गर्न पाउँछन्। खेतबारी हराभर हुन्छन्। गाउँबस्ती मानिसहरूले भरिन्छन्।

जंगली जनावरले खेती नष्ट गर्न पाउँदैनन्। सबै कुरामा व्यक्ति तथा परिवार आत्मनिर्भर बन्न सक्छन्। सरकारको आर्थिक उन्नतिमा टेवा पुग्छ।’ मुलुक धनी बन्छ। अन्य देशको भर पर्नु पर्दैन्। अनुत्पादक क्षेत्रमा भने अनुदान दिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उनले जोड दिए।

हल गोरु पाल्नेलाई पनि भत्ता

हल गोरु पाल्दै आएका किसानलाई वार्षिक २ हजार ५०० भत्ता दिइने छ। खेतबारी जोत्नका लागि आफैँले पाल्ने गरी हल गोरु किन्ने किसानलाई नगद ५ हजार भत्ता दिइने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।

कृषिलाई बढवा दिन यो नीति लिएको उनले सुनाए। गोरु पाल्दा सामान्य परिवारलाई ठूलो राहत मिल्छ। घरका गोरु, घरकै जोत्ने मान्छे हुँदा आम्दानी पनि राम्रै हुने उनले बताए। गोरुको मलसमेत खेतबारीमा प्रयोग गर्न पाइने हुँदा गोरु पाल्ने किसानलाई वडाले प्रोत्साहन भत्ताको व्यवस्था गर्न लागेको उनले बताए।

सालको पातका दुना टपरी वडाले किन्ने

सालको पातका दुना टपरी वडा कार्यालयले खरिद गर्ने भएको छ। वडा भित्रका मनिसले बुनेका टपरी खरिद गर्ने भएको हो।

जंगलमा सालका पात सुकेर भुइँमा खेर गएका छन्। घाँस काट्न जाँदा कम्तीमा एक मुठा सालका पात टिपेर ल्याउने बानीको विकास गराउने हो।

घरमा फुर्सदको समयमा उनीहरूले दुना टपरी बुन्नेछन्। थोरै धेरै जति भए पनि वडाले निश्चित मूल्यमा खरिद गर्नेछ। जसले गर्दा उनीहरूलाई एक किलो चिनी किन्न राहत मिल्ने उनको विश्वास छ।

वडाले खरिद गरेर राखेका दुना टपरी सोही मूल्यमा वडाभित्र कसैको घरमा हुने कार्यक्रममा दिइने उनले बताए। बजारमा आएका प्लाष्टिकका प्लेट, कटौरा विस्थापित गरी यहाँका नागरिकलाई स्वरोजगार बनाउने गरी दुना टपरीको नीति लिएको उनले बताए।

घरमा भएको जेष्ठ नागरिकले पनि दुना टपरी बुन्न सक्छन्। क्षमताअनुसार कमाउन सक्नेछन्। यसरी सामान्य परिवारको आर्थिकोपार्जनमा टेवा पुग्ने वडाध्यक्ष पोखरेलले बताए। वडामा बढी भएका दुना टपरी बाहिर पनि निर्यात गर्ने योजना रहेको उनले सुनाए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.