सरकारी कार्यालयमा राखिएका उजुरी पेटिकामा माकुरोको जालो

|

  • दीपेन्द्र शर्मा-

जाजरकोट  :   नागरिकका गुनासा सुन्नका लागि जाजरकोका विभिन्न सरकारी कार्यालयहरुमा राखिएको उजुरी पेटिकामा माकुराले जालो लगाएको छ। विभिन्न सरकारी कार्यालयहरुमा राखिएका उजुरी पेटिकामा नागरिकहरुका उजुरीहरु नपर्दा माकुराको जालो लागेको हो।

६ वर्षअघि  जिल्ला प्रशासन कार्यालय जाजरकोटमा नागरिकका गुनासा सुन्नका लागि राखिएको उजुरी पेटिकामा अहिलेसम्म एउटा पनि उजुरी परेको छैन। उजुरी पेटिका राखे पनि यसबारे सर्वसाधारणलाई चेतना नभएका कारण उजुरी पर्न नसकेको हो।  जिल्ला प्रशासन कार्यालय मात्र होइन, जिल्लाका अन्य सरकारी कार्यालयहरुमा पनि उुजुरी पेटिकामा अहिलेसम्म कुनै पनि उुजुरीहरु परेका छैनन्।

सेवाप्रवाह र कर्मचारीको कामकाजप्रति भएका नागरिकका गुनासो थाहा पाउनका लागि भनी राखिएका उजुरीपेटिकाबारे सर्वसाधारणलाई जानकारी नगराइएका कारण हालसम्म कुनै पनि कार्यालयका उजुरी पेटिकामा उजुरी तथा गुनासाहरु नपरेको नागरिक अगुवा वीर बहादुर बस्नेतले बताए ।

“कार्यालयहरुमा उजुरी पेटिका राखिनुले औपचारिकता निभाएको जस्तो मात्र देखिन्छ, तर उुजुरी पेटीका प्रयोगमा नआउदा  राखिनुको कुनै औचित्य  देखिदैन”  उनले भने।   जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरुमध्ये कुनै संस्थाहरुले उजुरीपेटिका राखे पनि तिनीहरु माकुरा र धमिराका घरहरुबाहेक अरु केही बन्न नसकेको बस्नेतको  भनाइ छ।

सूचनाको विकाससँगै कार्यालयहरुमा नागरिकको सहज पहुँच हुनुले उजुरी तथा गुनासाहरु सिधै कार्यालय प्रमुखसमक्ष प्रस्तुत गर्न सक्ने हुँदा उजुरी पेटिकामा उजुरीहरु नपर्ने गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल बताउँछन्। “ पहिला भन्दा अहिले वातावरण धेरै सहज भएको छ, अहिले टेलीफोन मोबाइलमार्फत आफ्ना गुनासाहरु टिपाउने र के भइरहेको छ तत्काल थाहा पाउन सक्ने हुनाले नागरिकका उजुरी तथा गनासाहरु उजुरी पेटिका नभई सिधै कार्यालय प्रमुखसमक्ष आउने गर्छन्” प्रजिअ पौडेलले भने ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.