|

रुकुम : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिकाबाट अध्यक्षमा स्वतन्त्र उम्मेदवारी भएको छ। थवाङ गाउँपालिकाको उवा गाउँ निवासी भक्तबहादुर घर्तीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन्।

नेपाल कम्युनिस्‍ट पार्टीले देशभर कथित स्थानीय चुनाव भन्दै भण्डाफोर र बहिष्कार अभियान चलाइरहेको बेला रोल्पामा भने विप्लव कार्यकर्ताले स्वतन्त्र रुपमा उम्मेदवारी दिएपछि अर्थपूर्ण रुपमा हेरिएको छ। उनीसँगै उक्त गाउँपालिकाबाट नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट पनि उम्मेदवारी दर्ता भएको बताइएको छ।

जिल्ला पार्टी भन्छ हाम्रो चुनावमा जाने नीति छैन

देशभर चुनाब बहिष्कार अभियान गरिहेको पार्टीले रोल्पा थवाङमा किन उम्मेदवारी दियो भनेर नेपाल कम्युनिस्‍ट पार्टी रोल्पा थवाङका सेक्रेटरी हितप्रसाद रोकालाई टेलिफोन सम्पर्क गरी बुझ्दा भक्तबहादुर घर्ती आफ्नो कार्यकर्ता भए पनि आफ्नो पार्टीको तर्फबाट उम्मेदवार नभएको बताए। ‘उहाँ हाम्रो पार्टी मान्छे हो,

उहाँले पनि आज थवाङमा उम्मेदवारी दिनुभयो भन्ने सुनियो तर उहाँ हाम्रो पार्टीको तर्फबाट भने बिल्कुल होइन’ टेलिफोनमा उनले भने, ‘स्वतन्त्र रुपमा होस वा अन्य कुनै तालमेलबाट होस हाम्रो पार्टी चुनावमा जाने कुनै नीति छैन, चुनावमा जाने भए त किन यत्रो नाटक गर्नुपर्थ्यो, किन देशभरबाट आन्दोलनमा लागेर कार्यकर्ता पक्राउ पर्नुपर्थ्यो।’

कसैले पार्टीको नीति नै त्यागेर उम्मेदवारी दिईहाल्छ भने आफुहरुले केही गर्न नसक्ने भन्दै घर्तीले पनि व्यक्तिगत रुपमा आफ्नो स्वतन्त्र उम्मेदवारी दिएको हुन सक्ने उनले प्रतिक्रिया दिए।

चुनावमा भाग लिनुभो सकियो कारबाही हुँदैन

‘पार्टीको नीति र कमाण्ड नमान्ने हो भने त कसले के गर्न सक्छ’ तपाईंको कार्यकर्ताले उल्टै चुनावमा भाग लिएको पाईयो अब के कारबाही हुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘उहाँलाई भौतिक रुपमा कारबाही भन्ने कुरा भएन, विगतको माओबादी पार्टीभित्र विचार नमिलेर धेरै टुक्रा भयो कसले के गर्न सक्यो र ? उहाँले पनि हाम्रो नीति मान्नु भएन चुनाबमा भाग लिनुभयो सकियो।’

पार्टीका जिल्ला सेक्रेटरी बल बहादुर खत्रीले आफूहरु अर्धभूमिगत भएर निरन्तर चुनाव खारेजी र बहिष्कार अभियानमा रहेको बताएका छन्। आफ्नो नेता कार्यकर्ता कुनै पनि चुनावमा भाग नलिने नीति रहेको र कार्यकर्ताले चुनावमा भाग लिएको जानकारीमा नआएको प्रतिक्रिया दिए।

‘हाम्रो चुनाब खारेजी अभियानमा प्रहरीले हस्तक्षेप गरेर भेटायो कि हिरासतमा लिन थालेपछि हामी अर्धभूमिगत तवरमा छौं, चुनावमा भाग लिने त झन् कुनै आएन’ उनले भने। उनका अनुसार रोल्पा जिल्लाबाट दुई चरणमा गरी नेपाल कम्युनिष्ट पार्टीका १४ जना कार्यकर्ता समेत पक्राउ परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.