|

कपिलवस्तु :  स्थानीय तहको निर्वाचनको विरोधमा आन्दोलनमा होमिएको राष्ट्रिय जनता पार्टी नेपालका जिल्ला नेताले मनोनयन दर्ता गरेका छन्। तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीका नेता रामदास गुप्ता तथा बासुदेव कसौधन लगायत राजपामा आवद्ध नेताले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका हुन्।

कपिलवस्तु नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिन पुगेका गुप्ताले पत्रकारसमक्ष वर्तमान राजपाको आन्दोलनको तुक नभएको प्रतिक्रिया दिए। मधेसी जनताले चुनाव चाहेकाले उनीहरुको चाहना पुरा गर्न उम्मेदवारी दिएको उनको भनाइ छ।

हालसम्म ५ पटक सम्म नगरप्रमुख भइ जिम्मेवारी पूरा गरेकाले पनि अहिले पनि आफूले चुनाव जित्ने गुप्ताले बताए। राजपामा आवद्ध नेताले नै स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेपछि कपिलवस्तुमा राजपाले थालेको आन्दोलन सुस्ताएको छ।

कपिलवस्तुका ६ नगरपालिका र ४ गाउँपालिकामा शान्तिपूर्वक मनोनयन दर्ता भइरहेको र उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरी उपरीक्षक भोजजंग शाहले जानकारी दिए।

राजपाका ३० कार्यकर्ता पक्राउ

चुनाव विरोधी गतिविधि गर्ने राजपाका जिल्ला संयोजक कैलाश अग्रहरी, केन्द्रीय नेता रविदत्त मिश्र, डा.कालीपद शर्मा, अमृता अग्रहरी, बलराम तिवारी, सन्तराम अग्रहरी, राहुल सिंह, राजु मुसलमान, इरफान मुसलमान, हरिप्रसाद पाण्डे (चक्रधारी), इन्तियाज अहमद , हरिश प्रसाद पाण्डे लगायत २० भन्दा बढी नेतालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई गोरुसिंगे, पिपरा र बुटवलबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक शाहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.