|

तनहुँ : आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदी रम्घाबारे नसुन्ने सायदै कोही होलान्। आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका दृष्टिले चुँदीरम्घामा पर्यटकीय गतिविधि बढ्नुपर्नेमा त्यस्तो हुन सकेको छैन।

पर्यटकीय पूर्वाधारका रूपमा भानुका साहित्यिक सङ्ग्रहालय, पक्की सडक, होटल, घरबासलगायतको प्रबन्ध नहुनुले पनि यस्तो भएको हुनसक्छ। भानुसँग जोडिएको घाँसीकुवा पृथ्वीराजमार्गमा बनाइएको छ। चुँदीरम्घामा हेर्नैपर्ने भानुसँग जोडिएका विशेष स्मृतिस्थल निर्माण गरिएका छैनन्।

नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मातहत हुने गरी सञ्चालनमा ल्याएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुका हरेक जन्मजयन्तीमा विविध साहित्यिक र प्रतियोगितात्मक कार्यक्रम भने गर्दै आएको छ। यस्ता कार्यक्रममा काठमाडौँ र विभिन्न जिल्लाबाट आमन्त्रण गरिएका केही कवि पुग्छन्। त्यसपछि एक वर्षसम्म चुँदीरम्घाको साहित्यिक वातावरण सुनसान रहन्छ।

भानुभक्तका ८२ वर्षीय पनाति हरिनाथ शर्मा आचार्यको मनमा पनि यो कुरा गढेको रहेछ। सरकारले पर्याप्त ध्यान दिन नसकेका कारण भानुको जन्मस्थल ओझेलमा परेको उनको गुनासो छ। आचार्य आफू केही समयअघि भारतको सिक्किम जाँदा त्यहाँ भानुको भव्य जन्मजयन्ती मनाइएको देखेर दङ्ग परे।

भानुभक्तका छोरा रामनाथकाछोरा देवीभक्तका छोरा हरिनाथ आचार्य गाउँमै सामान्य किसानी गर्छन्। रामनाथका दुई श्रीमतीमध्ये अर्की श्रीमतीपट्टिका एक नाति हरिनाथभन्दा जेठा पनि जीवितै छन्।

भानुभक्तको २१०औँ जन्मजयन्तीका अवसरमा विकास समितिले शुक्रबार भानु नगरपालिका–४ मा आयोजना गरेको भानुभक्तीय रामायण वाचन तथा खुला कविता प्रतियोगिता कार्यक्रममा सहभागी स्रष्टाले पनाति हरिनाथसँग भेट्न र सँगै तस्विर खिचाउन पाउँदा बेग्लै अवसरको अनुभव गरे। 

उक्त स्थललाई पर्यटीयक गन्तव्य बनाउन पहल भने नभएका होइनन्। डा. जयराज आचार्यको अध्यक्षतामा गठित भानु साहित्य उद्यानका महासचिव काशीराज आचार्यले रम्घाडाँडामा रहेको ४०० रोपनी जग्गा अधिग्रहण गराएर त्यहाँ साहित्य उद्यान बनाउने कार्य शुरु भएको जानकारी दिए। यसका लागि सरकारबाट एक करोड निकासा भएको थियो। उद्यानले व्यक्तिगतस्तरमा पनि आर्थिक सहयोग जुटाइ विकास समिति र नगरपालिकालाई यस्ता काममा भरथेग र सहजीकरण गर्दै आएको छ। महासचिव आचार्यले सबै जग्गा अधिग्रहण भइसकेपछि उक्त डाँडामा भानुको एक सय आठ फिटको विशाल मूर्ति बनाउने लक्ष्य रहेको बताए।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा विष्णुविभु घिमिरेले चुँदीरम्घालाई गन्तव्यस्थल बनाउन आग्रह गर्दै आदिकविले जनजीवनका सरल शैलीमा भानुभक्तीय रामायाण र अन्य लोकपिय रचना गरेका कारण उनको कीर्ति नेपाल बाहिर नेपाली पुगेका सबै स्थानमा भएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.