|

कास्की : गण्डकी प्रदेशभित्रका विभिन्न पदमार्गमध्येको एक हो ‘रोयल ट्रेक’। तत्कालीन बेलायती राजकुमार चार्ल्सले २०३९ मा पदयात्रा गरेको यो पदमार्गसँगै प्रदेशमा विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि, मर्दी, सहस्राब्दी आदि चर्चित पदमार्ग छन्।

तल्कालीन समयमा युवराज चार्ल्सले विजयपुरस्थित चाँपको चौरबाट पदयात्रा थालेका थिए। उनले पहिलो दिन विजयपुरमाथिको चिन्तेको डाँडामा पुगी रात बिताएका थिए। दोस्रो दिन उनी कालिका, सौरे, लिपयानी, राम्चे, हुँदै स्याक्लुङको डाँडामा पुगी बास बसेका थिए। तेस्रो दिन रूपाकोटको चिसापानीमा बास बसेका चाल्र्स बेगनास तालको जंगलमा चौथो रात बिताएर काठमाडौँ फर्किएको उल्लेख छ।

युवराज चाल्र्सले पदयात्रा गरेको ‘रोयल ट्रेक’को गरिमा र महत्त्वलाई जोगाउनका लागि यसको प्रवर्द्धन र विकासलाई कास्कीको रुपा गाउँपालिकाले प्राथमिकतामा राखेको छ। पछिल्ला समयमा यसको प्रवर्धनमा पर्यटनसम्बद्ध संघसंस्थाले पनि जोड दिँदै आएका छन्।

हाइकिङका माध्यमबाट पोखरा आसपासका पर्यटकीय गन्तव्य, घरबास आदिको प्रवर्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो हाइकिङको ३६औँ शृङ्खला रोयल ट्रेक क्षेत्रको पचभैयाँ–रूपाताल हुँदै हात्तीमैतासम्म सम्पन्न गरेको संयोजक कृष्ण रानाभाटले जानकारी दिए।

संरक्षण र प्रवर्द्धनको अभावमा पदमार्ग हराउँदै गएको वास्तविकतामा ऐतिहासिक महत्त्वको रोयल ट्रेकको महत्त्वलाई उजागर गर्ने लक्ष्यका साथ हाइकिङ सम्पन्न गरेको उनले बताए। विगत तीन वर्षदेखि क्लबले प्रत्येक महिनाको अन्तिम शनिबार हाइकिङ सञ्चालन गर्दै आएको उनले जानकारी दिए। पोखरामा रही विभिन्न सेवा, पेशा र व्यवसायमा आबद्ध ५० जनाभन्दा बढी व्यक्ति हाइकिङमा सहभागी भएको बताउँदै उनले यसबाट रोयल ट्रेक र यसको महत्त्व सम्बन्धमा सचेतना जगाएको बताए

पचभैयाबाट सुुरु गरिएको हाइकिङ रुपाताल, झोलुङ्गे पुल, भङ्गरा, जमनकुना, रूपाकोट रिसोर्ट हुँदै हात्तीमैता भ्यूटावरमा पुुगी सम्पन्न भएको थियो। रूपा गाउँपालिकाका प्रमुख नवराज ओझाका अनुसार यो पदमार्ग क्षेत्रको प्रवर्द्धन र विकासमा रूपा गाउँपालिकाले जोड दिएको छ। गाउँपालिकाले रूपातालको छेउबाट हात्तीमैतासम्म छ किलोमिटर सिँढीबाटो निर्माण गरेको उनले बताए।

पदयात्रासँगै धवलागिरि, अन्नपूर्ण हिमशृङ्खला आदिको रमणीय दृश्य एकसाथ अवलोकन गर्न सकिने यहाँबाट बेगनास, रूपा हुँदै फेवाताल, पोखरा तथा लेखनाथका दृश्यमा पर्यटक लोभिने गरेका छन्। तत्कालीन द्वन्द्वकालीन समयमा यो पदमार्ग सुनसान बनेको यहाँका स्थानीयवासी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.