|

रसुवा : रसुवा नेपालको उत्तरी नाका रसुवागढी हुँदै मालसामग्री आयात एवं निर्यात हुने क्रम बढ्न थालेको छ । गत वर्षको फागुनसम्म प्रायः शून्य रहेको निर्यात चैत १८ यता क्रमिक रूपमा बढ्न गइ रु एक अर्ब ४३ करोड दुई लाख बराबरको नेपाली मालवस्तु चीनतर्फ निर्यात भएको छ ।

चीनतर्फ निर्यात भएका मालवस्तुमा चाउचाउ, धातु, तामा तथा आल्मोनियमका भाडा, ऊनी गलैँचा, कार्पेट, नक्कली गहना, फलामे भाडा, डस्ना, नक्कली कपाल, अगरबत्तीलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

तयारी कपडा, जुत्ता, चप्पल, सवारी साधन, मोबाइल, टेलिफोन, हाते झोला, सुति कपडा, मेशिनरी पार्टस, बिजुलीका तार सयौँ प्रकारका सामग्री चीनबाट आयात भएको छ । सो अवधिमा रू २९ अर्ब ९० करोड ४५ लाख बराबरको सामग्री नेपाल आयात भएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिनुभयो । 

यस नाकाबाट दश लाख केजी दाँतेओखर आयात भएको छ । अन्य आयात सामग्रीमा अप्टिकल फाइबर केबुल, मोटर्स पार्टस्, चश्मा, बिजुलीका तार, मेशिनरी पार्टस्का साथै स्याउ, लसुन रहेका छन् । प्रमुख भन्सार अधिकृत पाठकका अनुसार नियमानुसारको मूल्याङ्कनबाट भन्सार शुल्कवापत रू आठ अर्ब २४ करोड ८३ लाख राजस्व असुली भएको छ ।

सवारी साधनतर्फ चीनमा निर्मित साना ठूला गरी कूल एक हजार दुई  सय ८९ थान सवारी साधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ । नेपालमा सञ्चालित जलविद्युत् आयोजनाको अधिकांश उपकरण रसुवागढीबाट आयात हुने गरेको सूचना प्रविधि अधिकृत निर्मल कँडेलले बताउनुभयो ।

व्यापारीले चीनबाट आयात गरेका केही सवारीसाधन भने भन्सार हातामै रहेको र भन्सार प्रक्रिया पुर्याइ छुटाउने कार्य भने क्रमिक रूपमा अगाडि बढीरहेको जनाइएको छ ।

कोरोना सङ्क्रमणपश्चात गत चैत १८ गतेदेखि अर्थात् अप्रिल  महिनाको  १ तारेखदेखि नेपाली कन्टेनर सिधै केरूङ जान पाएपछि रसुवागढी नाकाबाट दुई हजारभन्दा बढी मालवाहक नेपाली ट्रक कन्टेनरले सामान बोकी केरूङ–काठमाडौँ ओेहरदोहर गरिसकेका छन् ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.