|

कास्की : जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको टोलीले निरीक्षण गरेको छ।

सचिव नेतृत्वको टोलीले आज माछापुच्छ्रे गाउँपालिका–२ मा निर्माणाधीन २५ मेगावाट क्षमताको आयोजनाको स्थलगत अवलोकन गर्दै हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी लिएको हो।

आयोजनामा सरकारी कम्पनी हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल)को संस्थागत स्वपुँजी (इक्वेटी) लगानी रहेको छ। एचआइडिसीएलको अध्यक्ष ऊर्जा तथा जलस्रोत मन्त्रालयको सचिव रहने व्यवस्था छ। 

सचिव नेतृत्वको टोलीमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीका सञ्चालक शम्भुप्रसाद मरासिनी, माधवप्रसाद कोइराला, जीतेन्द्र धिताल, सुधिर ज्ञवाली, एचआइडिसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम, डेपुटी सिइओ अरुण रजौरिया र जीवनकुमार बस्नेत सहभागी थिए।

टोलीले  आयोजनाको हालसम्मको भौतिक प्रगतिको अवस्था, हेडवर्क, विद्युत्गृह तथा पाइप लाइन विस्तारका बारेमा जानकारी लिएको थियो। टोलीलाई आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले आयोजनाका बारेमा जानकारी गराएका थिए।

ऊर्जासचिव घिमिरेले आयोजनाको स्थलगत अवलोकनपछि आफूहरूले सही ठाउँमा लगानी गरेछौँ भनेर ढुक्क भएर फकिर्ने अवस्था रहेको बताए। आयोजना सम्पन्न हुने चरणमा पुगेकामा उनले खुसी व्यक्त गर्नुभयो। 

देशको ऊर्जा क्षेत्रको विकासमा निजी ऊर्जा उत्पादकहरूको ठूलो भूमिका रहेको भन्दै सचिव घिमिरेले अझ ठूला परियोजनामा लगानी बढाउन आह्वान गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.