|

जुम्ला : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड खलंगा कार्यालयले आफूसँग पर्याप्त मात्रामा नुन रहेको दाबी गरेको छ। आफूहरूसँग अहिले एक हजार ७२१ क्विन्टल नुन मौज्दात रहेको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख खगेन्द्र मल्लले सदरमुकामको डिपोमा ८२१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा ५५० क्विन्टल र गुरुचौर डिपोमा ३५० क्विन्टल रहेको दाबी गरे। ‘जिल्लामा नुनको अभाव हुने छैन। अबको केही सातापछि यहाँका आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने  छ’, उनले भने, ‘वडाको मागबमोजिम वितरण गर्न कार्यालय लागिपरेको छ।’

गत असार ३१ गते कार्यालयको मुख्य डिपोबाट  नुन वितरण भइरहेको समयमा केही  व्यक्ति आक्रोशित भई तोडफोडमा उत्रिएका थिए। गत आर्थिक वर्षकै नुन समयमै वडामा ढुवानी नहुँदा  सदरमुकाम डिपोमा भीड हुने गरेको कार्यालयले जनाएको छ। गत आव २०७९/०८० मा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार २०० क्विन्टल कोटा रहेकामा सबै ढुवानी भइसकेको छ। यही साउन ३ गते प्रदेश कार्यालय नेपालगञ्जबाट ३२० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिए।
 
तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले नौवटै वडामा नुन ल्याउन कार्यपालिकामा छलफल गरेर वडाबाटै वितरण गर्ने बताए। वडामै नुन ल्याउन साल्ट ट्रेडिङसँग समन्वय गरिरहेको तिला–१ का वडाध्यक्ष जङ्गबहादुर बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.