|

गण्डकी : तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)अन्तर्गत पुतली बजार नगरपालिका–२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४ प्रजातिका चरा भेटिएका छन्।

प्रकृतिका साथी संस्थाको आयोजनामा वन्यजन्तु अनुसन्धान विधि तालिमका क्रममा उक्त सङ्ख्यामा चराका प्रजाति फेला परेका हुन्। प्रकृतिका साथी संस्थाले देशका विभिन्न जिल्लाबाट सहभागी १३ जनालाई उक्त क्षेत्रमा १९ दिने तालिम प्रदान गर्दै आएको संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए।

तालिमका क्रममा सहभागीलाई जङ्गलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधिलगायत वन्यजन्तुका विषयमा जानकारी दिने गरिएको उनले बताए।

“नेपालमा मात्रै पाइने काँडे भ्याकुर भैँसेगैँडामा पर्याप्त पाइन्छन्”, उनले भने, “चाइना मङ्गोलियाबाट बसाइँ सर्ने सिकारी प्रजातिका चराहरू पनि यही स्थान भएर नेपालको तराईका साथै भारततिर जाने भएकाले चरा अध्ययनका लागि यो महत्वपूर्ण गन्तव्य हो।”

तनहुँ र स्याङ्जाका विभिन्न भागलाई जोड्ने कूल ७२ किलोमिटरअन्तर्गत रहेको सहश्राब्दी पदमार्गको ५२ किलोमिटर वनजङ्गल क्षेत्रमा पर्ने भएकाले चराचर, पर्यावरणलगायत वन्यजन्तु र वातावरण सम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि यो आकर्षक गन्तव्य बन्दै गएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताए।

यस क्षेत्रमा काँडे भ्याकुरदेखि धेरै प्रजातिका चरा, वन्यजन्तु र वनस्पति पाइने भएकाले पर्यावरणीय अध्ययन तथा अनुसन्धानका लागि यो स्थल महत्वपूर्ण रहेको उनको भनाइ छ।  

मिलेनियम ट्रेकअन्तर्गत ठाउँठाउँमा रहेको पर्यटकीय गन्तव्यलाई संरक्षण र प्रवर्द्धनमा जोड दिइएको व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए। “प्रकृति र संस्कृतिका विविधता अवलोकन गर्दै पदयात्रा गर्न पाइनु यस पदमार्गको विशेषता हो”, उनले भने, “जुनसुकै मौसममा जुनसुकै उमेर समूहका व्यक्तिलाई हिँडाउन सकिने यो पदमार्गलाई प्रवर्द्धन गर्ने कुरामा जोड दिँदै आएका छौँ।”

नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुरदेखि अन्य विभिन्न प्रजातिका चरा, वन्यजन्तु वनस्पतिसँगै हिमाली र पहाडी भूभागको अवलोकन पनि सँगै गर्न सकिने भएकाले यहाँको पदयात्राको प्रचारप्रचारमा गर्नुपर्नेमा उनको जोड थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.