|

काभ्रे : के तपाईं काभ्रपलाञ्चोकको पनौती घुम्न जानुभएको छ ? यदी छैन भने पनौतीमा घुम्नका लागि जाने र कहाँ बस्ने भन्ने समस्या हट्ने भएको छ। यसका लागि पनौती पर्यटन विकास केन्द्रले यहाँ घुम्न आउने पर्यटकको लागि सहज बनाउन ‘पनौती हेरिटेज पासपोर्ट’ प्रदान गर्ने भएको छ।

युनेस्कोले हरेक पर्यटकीय क्षेत्रमा पर्यटकको सहजताका लागि कहाँ के छ ?  कस्तो छ ? भन्ने जानकारी दिने गरी ‘हेरिटेज पासपोर्ट’ प्रदान गर्ने गरेकोमा पनौतीमा पनि सो लागू गर्न लागिएको पनौती पर्यटन विकास केन्द्रका सदस्य प्रशान्त श्रेष्ठको भनाइ छ। 

उनले ऐतिहासिक एवं सांस्कृतिक सहर पनौतीमा घुम्न आउने पर्यटकलाई सहजीकरण गर्न ‘पनौती पर्यटक सूचना केन्द्र’ लाई नयाँ व्यवस्थापनसहित सेवा सुरु गरिएको जानकारी दिए।

“अब हरेक पर्यटकको विवरण राख्ने र पनौतीलगायतका आसपासका ठाउँ घुम्नका लागि रुट र होटल तथा घरबासका लागि आवश्यक जानकारीसहितको ‘हेरिटेज पासपोर्ट’ वितरण गरेर सहजता बनाउँदै छौँ”, उनले भने, “यसका लागि सबै तयारी भइसकेकाले अब छिट्टै वितरण सुरु गर्छौं।”

पनौतीमा आउने पर्यटकलाई पनौती के हो र यसको महत्व कस्तो छ भन्ने विषयमा जानकारी दिनुका साथै पनौतीभित्र कुन–कुन ठाउँ घुम्न आवश्यक छ भन्ने विषयलाई जानकरी दिन केन्द्रले आवश्यक सहयोगी सामग्रीसहितको नक्सासमेत तयार गरिसकेको छ।

केन्द्रका संस्थापक अध्यक्ष सुरेश सैँजुले पनौतीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बनेको पर्यटक सूचना केन्द्रलाई नयाँ ढङ्गले विकास गर्दै लानु खुसीको कुरा भएको बताए।

केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौतीमा पर्यटकलाई आकर्षित गर्न पर्यटकको गन्तव्य बनाउन सूचना, सुरक्षा र सुविधा पहिलो आवश्यक रहेकाले आफूहरुले त्यसको पूर्णता दिने योजनालाई समेत अगाडि सारेर काम गरिरहेको बताए। पनौतीका पर्यटकीय गन्तव्यबारे जानकारी, पर्यटकको सुरक्षासम्बन्धी पनि योजना बनाइरहेको बताए।

उनले पर्यटकलाई एक ठाउँबाट अर्को ठाउँसम्म जानका लागि पर्यटक बस र बिरामी परेको अवस्थामा पर्यटक एम्बुलेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताए। त्यससँगै पनौती नगरबासिन्दाको लागि जीविकोपार्जन गर्न सकिने आधार खोजीका लािग नगरपालिकाले योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ छ। 

वडा नं ७ का वडाध्यक्ष सविन ताम्राकारले आफ्नो वडा स्मारक क्षेत्रमा परेको र विश्व सम्पदा सूचीमा सूचीकृतको लागि प्रक्रिया अगाडि बढिरहेको बताए। यस्तो अवस्थामा पुरानै शैलीको नक्सा पास गर्नका लागि इञ्जिनियरलाई सोही अनुसार निर्देशन दिइएको उनको भनाइ छ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती नगरलाई जसरी पनि विश्व सम्पदा सूचीमा सूचीकृत गराउने काममा लागिरहेको बताउनुभयो। उहाँले पर्यटकलाई आकर्षित गर्न आवश्यक योजना बनाएर अगाडि बढिरहेको स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.