|

काठमाडौं : क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडो र उनकी पत्नी सोफी कानुनी रुपमा छुट्टिएका छन्।

ट्रुडो दम्पतीले बुधबार अर्थपूर्ण र कठिन संवादपछि १८ वर्ष लामो वैवाहिक जीवन यात्रा तोड्दै आफूहरु छुट्टिन लागेको घोषणा गरेका हुन्। दुवैले छुट्टिए पनि आफूहरु गहन प्रेम र सम्मानसहितको निकटतम परिवारका रुपमा रहने बताएका छन्।

ट्रुडोको कार्यालयले एक विज्ञप्ति जारी गर्दै छुट्टिने सम्झौता पत्रमा हस्ताक्षर गरेपनि दुवै जना सार्वजनिक समारोहमा सँगै देखा पर्ने जनाएको छ।

विज्ञप्तिमा आगामी साता एउटा परिवारकै रुपमा उनीहरु बिदा मनाउन जानेसमेत उल्लेख गरिएको छ। ५१ वर्षीय ट्रुडो र ४८ वर्षीया सोफी ग्रेग्वायरबीच सन् २००५ को मेमा विवाह भएको थियो भने उनीहरुका तीन सन्तान छन्। दुवैले आफ्ना सन्तानहरु १५ वर्षीय जेभियर, १४ वर्षीय एला र नौ वर्षीय हृयाड्रिएनको भलाइका लागि व्यक्तिगत जीवनमा हस्तक्षेप नगरी दिन आग्रह गरेका छन्।

सन् २०१५ को नोभेम्बरमा ट्रुडो प्रधानमन्त्री भएयता सामाजिक समारोह तथा विदेश यात्रामा दुवै जना प्रायसँगै देखा पर्ने गरेका थिए। तर पछिल्ला वर्षमा भने सोफी आफ्ना श्रीमानसँग निकै कम देखा पर्ने गरेकी थिइन्। यही मे महिनामा बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्यारोहण समारोह सहभागी हुन दुवै जनासँगै लन्डन गएका थिए। यस्तै मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेन क्यानडा आउँदा दुवै जनासँगै देखा परेका थिए।

पदमा रहँदै छुट्टिन लागेको घोषणा गर्ने ट्रुडो क्यानडाका दोस्रो प्रधानमन्त्री हुन्। यस्तो घोषणा गर्ने पहिलो प्रधानमन्त्री भने उनकै बुवा थिए। सन् १९७७ मा उनका पिता पियरे ट्रुडो र आमा मार्गरेट ट्रुडोले ६ वर्षे वैवाहिक यात्रा तोड्दै छुट्टिने घोषणा गरेका थिए। पछि दुवै जनाबीच कानुनी रुपमै सम्बन्ध विच्छेद भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.