|

कास्की : सरकारले अनुदानमा उपलब्ध गराएको मल पोखरा महानगरपालिकामा प्रतिकिलो १५ रुपैयाँसम्म बढी मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ।

अनुदानको मल बढी मूल्यमा बिक्री गरेको गुनासो आएपछि महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले अनुगमन गर्दा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म बढी लिने गरेको पाइएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।

पोखरा महानगरका उपप्रमञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला, महानगर कृषि महाशाखा प्रमुख  कडरियासहितको टोलि अनुगमनमा गएको थियो।

अनुगमनका क्रममा पोखरा महानगरपालिका–१२ स्थित अमरसिंह कृषि सुलभ पसलले २१ रुपैयाँको युरिया ३५ र ५० को डीएपी  ६५ रुपैयाँमा बिक्री गरेको पाइएको महाशाखा प्रमुख कडरियाले जानकारी दिए।

मल बिक्री वितरण गर्ने अनुमतिसमेत नपाएको सो पसलले उपभोक्ता सहकारी संघबाट मल ल्याएर बढी मूल्यमा बिक्री गरेको खुलेको छ। यससँगै पसलमा रहेको २५ बोरा युरिया, छ बोरा डीएपी र पाँच बोरा पोटास बिक्री वितरणमा रोक लगाइएको जानकारी दिए।

स्थानीय मल व्यवस्थापन समितिले तोकेको क्षेत्रमा किसानको परिचय खुल्ने गरी बिक्री गर्नुपर्ने भए पनि त्यसको समेत पालना नगरिएकाले थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बोलाएको महानगरपालिकाले जनाएको छ। पोखरा  महानगरको मल वितरण व्यवस्थापन समितिको साउन १२ गतेको बैठकले सरकारी अनुदानमा प्राप्त हुने मलको मूल्य निर्धारण गरेको थियो।

युरिया मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ पाँच पैसासम्म, डीएपी मलको मूल्य प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ पाँच पैसासम्म तोकेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.