|

कास्की : गण्डकी प्रदेशका एक लाख तीन हजार २३० गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ। गाईभैँसीमा फैलिएको रोगले प्रकोपको रूप लिएपछि खोप अभियान सञ्चालन गरिएको हो। 

कुल आठ लाख ५४ हजार ९२५ गाईभैँसीमध्ये हालसम्म १२.०७ प्रतिशतलाई मात्र खोप दिइएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गृष्म न्यौपानेले जानकारी दिए। 

प्रदेशका ११ वटै जिल्लामा लम्पी स्किनको संक्रमण देखिएपछि गत आवको अन्तिममा प्रदेश सरकारले बजेट रकमान्तर गरेर खोपका लागि एक करोड बजेट छुट्याएको थियो। जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रमार्फत ५१ हजार ४००, स्थानीय तहबाट ४६ हजार ७०२ र किसानले आफ्नै खर्चमा पाँच हजार १२८ डोज खोप लगाएको मन्त्रालयले जनाएको छ।

महाशाखा प्रमुख न्यौपानेका अनुसार गण्डकीमा हालसम्म ६९ हजार ८४१ गाईवस्तु लम्पी स्किनबाट संक्रमित भएका छन्। प्रदेशका ८५ मध्ये ८२ स्थानीय तहका पशुचौपायामा संक्रमण देखिएको छ। मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड र मनाङको मार्फाभूमि गाउँपालिकामा अहिलेसम्म संक्रमण देखिएको छैन।

यो संक्रमणले हालसम्म तीन हजार २४७ गाईबस्तु मरेका छन् भने ३१ हजार ३०५ निको भएका छन्। ३८ हजार ५३६ गाईभैँसी अहिले पनि संक्रमित छन्।

डा.न्यौपानेले मनाङ र मुस्ताङ जिल्लामा भने रोग नियन्त्रणमा आएको बताए। प्रदेशका बाँकी नौ जिल्लामा पनि संक्रमणदर घट्दै गएको उनको भनाइ छ। ‘जिल्लामा रहेका भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ। संक्रमित पुश भेटिए तुरुन्त औषधोपचार गर्ने गरिएको छ’, उनले भने, ‘प्रकोप रोकथाम तथा नियन्त्रणका लागि जनस्तरमा सचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन भइरहेको छ।’

संक्रमित गाईभैँसीको ओसारपसार नै यो रोग फैलिनुको मुख्य कारण रहेको पशु चिकित्सक बताउँछन्। चरिचरनमा लैजाँदा, एउटै पोखरीको पानी खुवाउँदा, साझा सुईको प्रयोग, लामखुट्टे, किर्नाको टोकाइ आदिबाट लम्पी स्किन गाईभैँसीमा सर्ने न्यौपानेले बताए।

लम्पी स्किन रोगको औषधि पत्ता नलागेका कारण खोप नै बढी प्रभावकारी हुने उनको भनाइ छ। लम्पी स्किन रोग लाग्दा गाईभैँसीमा उच्च ज्वरो आउने, तौल घट्ने र छालामा गाँठागुँठी आउनेजस्ता लक्षण देखिने गरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.