|

पर्वत : मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकखण्डमा सबैभन्दा बढी सडक अवरुद्ध हुने स्थान पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित दोबिल्लामा रहेको सुन्दरे खोला हो।

गत वर्ष असार २२ गते राति उक्त खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड हेरिरहेका निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका दुईजना कर्मचारी सहित हाइलक्स गाडी बगाएको थियो।

कुश्मा नगरपालिका–३ दुर्लुङदेखिको बाढी एकोहोरिएर आउने सुन्दरे खोला हरेक वर्षको वर्षायाममा मात्तिएर आउँछ। बाढीसँगै आउने विशाल ढुङ्गा, गेगर र माटोले हरेक वर्ष बाटो अवरुद्ध गराउँदै आएको छ भने मध्यपहाडी लोकमार्गअन्तर्गत उक्त खोला आसपासको सडक हरेक वर्ष क्षतविक्षत हुने गरेको छ।

सोमबार साँझदेखि लगातार वर्षा भइरहेको छ। वर्षा सुरु भएसँगै यो वर्ष पनि सुन्दरे खोलामा आउने बाढीले सवारीसाधनलाई दुःख दिन सुरु भएको छ। रातभरको वर्षाका कारण खोलामा आएको बाढीले सवारी आवतजावतमा समस्या भए पनि प्रहरीले एस्काभेटर प्रयोग गरी सकेसम्मको सहज अवस्था बनाइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले बताए।

‘सुन्दरे खोलामा हरेक वर्ष समस्या हुने गरेको छ। दोबिल्ला आसपासको सडक बगाएर लैजाने गरेको छ। यो वर्ष बल्ल राम्रोसँग वर्षा हुन थालेको छ। सुन्दरे खोला सहित तमादी खोला, रिट्ठे खोला, भ्याप्ले खोला, सहस्रधारा लगायतका ठाउँमा बाढी र माथिबाट आउने पहिरोले सडक अवरुद्ध हुने गरेको छ’, उनले भने, ‘सडकलाई सकेसम्म पूर्ण अवस्थामा र त्यो नसके एकतर्फी रूपमा भए पनि सञ्चालनमा राख्न ट्राफिक प्रहरी, मध्यपहाडी लोकमार्ग आयोजना र स्थानीय तह एस्काभेटर सहित तयारी अवस्थामा रहेका छौँ।’

वर्षाका कारण कुश्मा नगरपालिका–७ खरेहा र कुश्मा नगरपालिका–८ चुवा जोड्ने तमादी खोलामा पनि मङ्गलवार बिहानैदेखि सडकमा लेदो जम्मा हुँदा साना गाडीलाई पोखरा आवतजावत गर्न समस्या भएको छ। खोलामा आएको बाढीले ल्याएको लेदो र गेगर कालोपत्रे सडकमा जम्दा दुई पाङ्ग्रे र साना गाडी चलाउन समस्या भएको हो।

‘लेदोमा फसेर मोटरसाइकल र स्कुटरहरू पल्टिरहेका थिए। साना सवारीहरू सडकमै फस्दा अरू यात्री र ट्राफिक प्रहरीले धकेलेर पार गराएको देखिन्थ्यो’‚ सोही बाटो हुँदै आएका स्थानीय समुन्द्र पौडेलले भने, ‘यो वेला दोबिल्ला काटेर ग्रामीण क्षेत्रतिरको बाटोमा जान पनि उस्तै समस्या हुने गरेको छ। सुन्दरे खेलामा आएको बाढी मोटर बाटो हुँदै दोबिल्लाको मोदी खोलाको पुलसम्म आउँदा सवारी चलाउनै समस्या छ।’

जिल्लाको दक्षिणी क्षेत्र जोड्ने एक मात्र पक्की सडक भत्किँदा दक्षिण पर्वतको यात्रा कष्टकर हुने गरेको छ। कुश्मा नगरपालिका–९ चुवाअन्तर्गत दोबिल्ला खण्डको सडक भत्केको वर्षौँ बित्दा पनि सडक खण्डको मर्मत हुन सकेको छैन। साना गाडी पाँच सय मिटरको सडक कालोपत्रे नहुँदा दक्षिणतर्फको यात्रा गर्दा समस्यामा पर्ने गरेका छन्।

मध्यपहाडी लोकमार्गको दोबिल्ला चोकदेखि मोदी खोला पुलसम्मको झन्डै पाँच सय मिटर सडकखण्ड विगत तीन वर्षदेखि जीर्ण अवस्थामा छ। तीन वर्षअघि दोबिल्लास्थित सुन्दरे खोलामा आएको बाढीका कारण उक्त सडक खण्ड भत्किएको थियो।

सडक अवस्था क्षतविक्षत भएको आँखैअगाडि देख्दा पनि सडक मर्मतमा भने कुनै निकायले पनि चासो देखाएका छैनन्। यसअघि सडक डिभिजन कार्यालय बागलुङमार्फत उक्त सडक कालोपत्रे भएको हो। सोही सडक खण्डको सिल्मी क्षेत्रमा समेत बाढी र पहिरोले भत्काएको सडक भने निर्माण भएको छ।

वारी क्षेत्रको सडक मर्मत नहुँदा सवारी आगमनका ठूलो समस्या परेको सवारी व्यवसायीले गुनासो गर्दै आइरहेका छन्। दोबिल्लास्थित सन्तोष चोकबाट मोदी खोलासम्मको सडकको नालीको सबै भाग भत्केको छ भने कालोपत्रे सबै उक्किएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.