|

पर्वत : पोखरा महानगरपालिका–३२ लामेआहालका स्थानीयको अवरोधका कारण १२ दिनदेखि अवरुद्ध पोखरा महानगरपालिकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको छ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकै रहेको ल्याण्डफिल साइट पुरेपछि अस्थायी रूपमा लामेआहालस्थित सेती नदी किनारमा बजारको फोहोर व्यवस्थापन हुँदै आएको छ। तर फोहोर ओसार्ने गाडीहरूले बाटोमै खसाल्न थालेपछि दुर्गन्ध बढेको भन्दै स्थानीयले गत साउन १० गतेदेखि लामेआहालमा विसर्जन गर्न अवरोध गरेका थिए। 

फोहोर व्यवस्थापनका लागि पूर्वाधार नबनाएको, सडकमा जथाभावी फोहोर फालेको र प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले फोहोर लैजान अवरोध गरेका हुन्। फोहोरले दुर्गन्ध बढाएपछि स्थानीयले पटक–पटक विरोध गर्दै आइरहेका थिए भने उनीहरूले यो पटक फोहोर फाल्ने कार्य रोक्न अदालतसम्म पुगेका छन्।

स्थानीयको अवरोधका कारण लामो समयदेखि पोखराको फोहोर व्यवस्थापन हुन नसक्दा महानगरपालिका प्रमुख धनराज आचार्य पनि आलोचित भएका थिए। मंगलवार महानगरका २९ वटा गाडीबाट लामेआहालको अस्थायी ल्याण्डफिल्ड साइडमा फोहर व्यवस्थापन गरिएको हो। 

फोहोर व्यवस्थापनका लागि मेयर आचार्य नै संघर्ष समितिसँग वार्ता गर्न पोखरा ३२ पुगे पनि सफल हुन सकेका थिएनन्। आचार्य र संघर्ष समितिसँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि महानगरपालिकाको कार्यपालिका बैठकले समस्या समाधानका लागि सदस्यहरू पोखरा २६ का अध्यक्ष नरेन्द्र थापा र पोखरा ३३ का अध्यक्ष रामचन्द्र अधिकारीलाई संयोजन गर्ने गरी तोकेको थियो। जिम्मेवारी पाए लगत्तै थापा र अधिकारीले संघर्ष समितिसँग वार्ता र संवाद अघि बढाएका थिए। समस्या समाधानका लागि वडाध्यक्ष थापा र अधिकारीलेसरोकारवालासँग महानगरले पटक पटक गरी विगतमा गरेको गल्तीको क्षमा याचना गर्दै, त्यसलाई सच्याएर  नयाँ सम्झौता गरी अघि बढ्नका लागि आग्रह गरेका थिए। 

अध्यक्ष थापा र अधिकारीले उच्च अदालत पोखराको आदेशलाई शिरोधार्य गर्दै अर्को फैसला नआएसम्म फोहोर व्यवस्थापनको वातावरण तयार गरिदिन सरकोरवालासँग आग्रह गरेका थिए। महानगरबाट संयोजनको भूमिका पाएका अध्यक्ष थापा र अधिकारीले सरोकारवालासँग पटक–पटक सहजीकरण र वार्ता गरिरहेका थिए। विगतमा पनि महानगरले सम्झौता गरेर कार्यान्वयन नगरेको भन्दै आक्रोशित स्थानीयलाई थापा र अधिकारीले अबका दिनमा सम्झौता कार्यान्वयन गराउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए। 

सोमबार स्थानीयसँग बसेको बैठक सहमति नजिक पुगे पनि अन्तिममा केही स्थानीयले विरोध जनाएपछि पुन बस्ने गरी वार्ता सकिएको थियो। स्थानीयलाई थापा र अधिकारीले वार्ता र संवाद पनि जारी रहने र फोहोरमैला व्यवस्थापनको वातावरण पनि तयार गरिदिन आग्रह गरेसँगै अवस्था सहज भएको हो। 

केही दिनदेखि व्यवस्थापन हुन नसकेको फोहोर व्यवस्थापन भए पनि वार्ता र संवादको  प्रक्रिया भने नरोकिएको पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य नरेन्द्र थापाले बताए। मंगलवार २९ वटा गाडीबाट फोहोर व्यवस्थापन भएको थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.