|

मुगु : मुग कार्मारोङ गाउँपालिका पुलु स्वास्थ्य चौकीमा कार्यरत हिमा बुढा सात महिनाको गर्भवती छिन्। तर उनलाई उपचारका लागि नेपालगञ्जसम्म पुग्न पनि निकै सकस परेको छ। ‘नेपालगञ्ज जानका लागि जहाजको पर्खाइमा बस्दाबस्दै पाँच दिन रारा विमानस्थलमा बित्यो’, उनले भनिन्।

उनी मात्र होइन अहिले नेपालगञ्जबाट दैनिक उडान हुने डोल्पा, सिमिकोट, रारा, बाजुरा लगायत दुर्गमका यात्रु मारमा परेका छन् । नेपाल नागरिक उड्डययन प्राधिकरण गत साउन १४ गते बाट मुगु लगायत दुर्गम जिल्लाहरुमा दिउँसो १२ बजेपछि उडान नगराउने निर्णयले यात्रु बिचल्लीमा परेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गमका विमानस्थलमा वर्षातका समयमा हवाई दुर्घटना हुन सक्ने भन्दै प्राधिकरणले साउन १४ गतेबाट उडानमा रोक लगाएको छ । कर्णालीका जिल्लामा अझै पनि भरपर्दो सडक छैन । कर्णालीका नागरिकको ‘लाइफलाइन’ हवाइमार्ग मार्ग भएकाले यो निर्णय सच्चाउनुपर्ने कर्णाली प्रदेश पर्यटन उद्यम समाज अध्यक्ष देवीकृष्ण रोकाया  बताउँछन्।

बर्खाको कारण देखाउँदै उडान बन्द गर्नु नेपाल नागरिक उड्डयन प्राधिकरणको गैरजिम्मेवार काम भएको पर्यटन व्यवसायी राजबहादुर कार्कीले बताए। ‘बिहान मौसम खुल्दैन। १२ बजे पछि जहाज आउँदैन’, उनले भने, ‘यात्रु विमानस्थलमा अलपत्र परेका छन्।’ 

यो निर्णयसँगै मुगुको रारा विमानस्थलमा आजसम्म तीन वटा मात्र उडान भएका छन । दुर्गम जिल्लामा बिहान मौसम नखुल्ने र मौसम खुल्ने समयमा विमान सञ्चालन नहुने भएकाले यहाँको रारा विमानस्थलका लागि यो निर्णय उपयुक्त नभएको रारा विमानस्थलका प्रमुख रोमन भट्टईले बताए । उनका अनुसार बिहान हुस्सु लाग्नेर ११ बजे मौसम खुल्ने भएकाले यहाँ उडान  भर्न समस्या हुन्छ। 

कुनै बिरामीलाई तत्कालै उद्धार गरेर हेलिकोप्टर वा जहाँजबाट सुविधासम्पन्न स्थानमा लैजानु पर्ने अवस्थामा मारमा पर्ने यहाँका स्थानीय बताउँछन्। सडक हिलाम्य सडक ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध हुने भएकाले जहाजको पर्खाइमा बस्नुको विकल्प नरहेको उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.