|

विराटनगर : गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि तयार पारिएको सुरक्षा योजना अनुसार अघि बढ्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन्।

विराटनगरमा बिहीबार आयोजित प्रदेश नम्बर १ को क्षेत्रीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै गृहमन्त्री शर्माले निर्वाचनलाई लक्षित गरेर जिल्लागत वस्तुस्थितिका आधारमा सुरक्षा योजनालाई कार्यान्वयन गर्न निर्देशन दिए। निर्वाचन सुरक्षा व्यवस्था मिलाउने सन्दर्भमा केही चुनौती रहेको उल्लेख गर्दै मन्त्री शर्माले ती चुनौतीको सामना गर्न तयार हुन पनि सुरक्षा अधिकारीलाई निर्देशन दिए।

निर्वाचनप्रति असन्तुष्ट रहेका दलहरुलाई पनि निर्वाचनमा स्वतन्त्र वा कुनै न कुनै रुपले सहभागी गराउन सक्नु सरकारको मुख्य उपलब्धी भएको उनले बताए।

दलहरुबीचमा स्वस्थ्य र सकारात्मक प्रतिस्पर्धाका आधारमा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मुलुक समृद्धिको बाटोतर्फ लम्कने उनले बताए। निर्वाचन मुलुकमा राजनैतिक अस्थिरता, संक्रमणकाल, भ्रष्टाचार, अनियमितता, राजनैतिक अन्तरविरोध र विभिन्न समस्याको अन्त्य गर्ने एउटा खुड्किलो हुने उहाले विश्वास व्यक्त गरे।

गोष्ठीमा पूर्वाञ्चलका १६ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, अञ्चल प्रहरी प्रमुखहरु, नेपाल तथा सशस्त्र प्रहरीका क्षेत्रीय तथा केन्द्रीय प्रमुखहरु, राष्ट्रिय अनुसन्धानका प्रमुख, क्षेत्रीय प्रशासक, नेपाली सेनाका अधिकारी, निर्वाचन आयुक्त, गृह सचिव लगायत सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.