|

काठमाडौं : सोमबारका लागि बोलाइएको गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ। बैठक मंगलबार बस्नेगरी स्थगित भएको हो।

‘बिजनेस’ नभएपछि गत बिहीबार डाकिएको बैठक पनि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो। प्रदेशसभा सचिवालयले मंगललबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने जानकारी सूचनामार्फत दिएको छ।

यसअघि गत बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची नै तय गर्न नसकेपछि बैठक स्थगित भएको थियो। सोमबारको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरिएको हो ।

विपक्षी दल नेकपा एमालेले सरकारले प्रदेश सभालाई ‘बिजनेस’ दिन नसकेको जनाएको थियो। अब बस्ने बैठकमा विषयगत समिति गठनको विषयले प्रवेश पाउने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले बताए।

सरकारले वन विधेयक पनि प्रदेशसभा सचिवालयमा दर्ता गरिसकेकाले आगामी बैठकमा छलफलका लागि पेश हुने जनाइएको छ। एमालेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईबस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्त्वका दुईवटा प्रस्ताव पनि दर्ता गरेको छ। प्रदेश सभाको दोस्रो कार्यकाल शुरु भएको सात महिना बितिसक्दा पनि ‘मिनि संसद्’ मानिने विषयगत समिति अझै गठन हुन सकेको छैन। 

प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूले विषयगत समितिको नेतृत्वमा आ–आफ्नै दाबी अघि सारेका छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.