क्षतिबारे जानकारी लिँदै सरकार

|

काठमाडौं : बहुचर्चित मेलम्ची खानेपानी आयोजनामा पुनः बाढीले क्षति पुगेको छ। लगातार वर्षाका कारण मेलम्ची खोलामा आएको बाढीले खानेपानीको मुहानमा क्षति पुगेको हेलम्बु गाउँपालिका वडा-१ का अध्यक्ष दावा ग्याल्जेन लामाले जानकारी दिए।

‘आइतबार र सोमबार परेको वर्षाले खोलामा बाढी आउँदा आयोजनामा क्षति पुगेको छ,’उनले थाहाखबरसँग भने। उनले बाटोसमेत अवरुद्ध भएका कारण उक्त आयोजना स्थलमा जान सकिने अवस्था नरहेको बताए।

आयोजनाको मुहानमा कार्यरत दुर्गा रमन लामिछानेका अनुसार बाढीले आयोजनाको गेट नम्बर ९ र १० पुरिएको छ। ‘अरू के कतिमा क्षति भयो भन्ने कुरा बाढीको बहाव घटेपछि मात्रै थाहा हुन्छ’,उनले भने। उनका अनुसार खोलामा बाढीको बहाव बढेको छ। बाटो पनि अवरुद्ध छ। जसकारण थप क्षतिबारे एकिन भन्न सकिने अवस्था छैन। 

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो पनि बाढीले अवरुद्ध बनाएको बताए। उनका अनुसार मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजनिक संरचना, खेती योग्य जमिनसमेत उच्च जोखिम छ। तर, पनि संघ र प्रदेश सरकारले बेवास्ता गरेको अध्यक्ष शेर्पाको गुनासो छ।

गाउँपालिकाका उपाध्यक्ष अप्सरा लम्साल (लामिछाने)ले पहिला आएको जस्तैगरी बाढी आएका कारण आयोजनामा क्षति पुगेको तथा बस्ति,जग्गाको कटान भएको जानकारी दिइन्। ‘पहिला जसरी पहिरो आएर बाढी आयो,फेरी यस्तै गरी बाढी आयो, त्यही भएर आयोजनामा क्षति पुगेको छ’,उनले भनिन्।

गाउँपालिकाका अध्यक्ष शेर्पाका अनुसार काठमाडौंबाट साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुमसम्म पुग्न सकिने सडक सञ्चालनका लागि काम भइरहेको छ।

विकास समिति भन्छ : हामी क्षति बुझ्दै छौँ

मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले भने आयोजनाको क्षतिबारे जानकारी लिइरहेको बताए। उनले भने,‘आयोजनामा क्षति पुग्यो भन्ने कुरा आएको छ,हामी यसबारे बुझ्दै छौँ।’ 

उपत्यकामा पानी ल्याउने समय धकेलियो

सरकारले अहिले बन्द गरेको पानी वर्षात सकिएलगत्तै उपत्यकामा ल्याउने योजना बनाएको थियो। तर, बाढीले पुनः आयोजनामा क्षति पुगेसँगै पानी काठमाडौं उपत्यकामा ल्याउने समय धकेलिएको छ।

अब कहिले पानी उपत्यकामा आउँछ भन्ने प्रश्नमा मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी  पन्तले भने,‘त्यो त अहिले भन्न सकिँदैन,अब के कति क्षति पुगेको छ,त्यहाँ गएर हेरेर मात्र भन्न सकिन्छ।’ मेलम्ची खानेपानी आयोजना सुरू भएको दुई दशकपछि अर्थात् २०७८ चैत्र १५ गते उपत्यकाभित्र पहिलो पटक वितरण थालिएको थियो।

पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण भयो। तर ०७८ सालको असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो। क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो। तर सरकारले पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गतेबाट मेलम्चीको पानी ल्याउन बन्द गर्‍याे।

​बर्खा सकिए पनि सरकारले समयमा पानी ल्याउन सकेन। बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी सरकारले काठमाडौं ल्यायो। क्षति मर्मतपछि गत मंसिर २३ गतेदेखि पानी वितरण भएको थियो।

फेरि मेलम्ची खानेपानी विकास समितिले यो वर्षामा पनि मेलम्चीको पानी ल्याउनको लागि संरचना मर्मतको काम गरिने भन्दै गत जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन बन्द गर्‍याे। उक्त संरचना मर्मतपछि पानी उपत्यकामा आयो। विकास समितिले अब यो वर्षातभरि नै पानी आउने जनाएको थियो तर पुनः बन्द गरियो। 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार केयूकेएलका दुई लाख ३० हजार ग्राहक छन्। उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ। मेलच्चीको पानी नआएसँगै यतिखेर उपभोक्ताहरू खानेपानीको सास्ती भोगिरहेका छन्।

उपभोक्ताहरू जारको पानी किनेर खान बाध्य छन्। तर,सरकारले अझै दीर्घकालीन रूपले मेलम्चीको पानी ल्याउन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.